करियर प्लानिङ एजुकेशन नेटवर्कले जापान अध्ययनका लागि विद्यार्थीलाई बिदाइ कार्यक्रम

Shares

बुटवल। करियर प्लानिङ एजुकेशन नेटवर्क प्रा. लि.ले जापान अध्ययनका लागि जाने ७७ जना विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ।

शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई अध्ययन यात्राका लागि हौसला प्रदान गरियो।
इक्यानका पूर्वअध्यक्ष देव बहादुर कुँवरले विदेशमा अध्ययन गर्दा भाषागत कठिनाइ, कामको व्यस्तता र संस्कृतिगत भिन्नतालाई आत्मविश्वास र धैर्यका साथ पार गर्नुपर्ने बताए। उनले विद्यार्थीहरूलाई समय र स्रोतको उचित उपयोग गर्दै नेपाल फर्केपछि सिकेका ज्ञान र सीपलाई देशको विकासमा लगाउन आग्रह गरे।

कार्यक्रममा इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेले विदेशमा अध्ययन गर्नु केवल शिक्षाको अवसर मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने जिम्मेवारी पनि भएको बताए। उनले जापानको शिक्षा प्रणाली व्यवस्थित र प्रतिस्पर्धात्मक भएकाले विद्यार्थीहरूले अनुशासन, समयको सदुपयोग र लक्ष्यप्रति दृढ संकल्प आवश्यक पर्ने उल्लेख गरे।

संस्थापक गोविन्द बस्नेतले शुभकामना दिँदै भने, “विदेश यात्रा अवसर र चुनौती दुवै बोकेर आउँछ। सफलता प्राप्त गर्न मेहनत र लगन अनिवार्य छ।” उनले जापानको अवसरहरूको सही सदुपयोग गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए।

थाइरो ल्याबका सञ्चालक रमेश लम्सालले जापानको शिक्षा प्रणालीबारे अनुभव बाँड्दै विद्यार्थीहरूलाई अध्ययनलाई प्राथमिकता दिन र बाँकी समयलाई व्यावहारिक ज्ञान हासिल गर्न सुझाव दिए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सह-सचिव झबिन्द्र देवकोटाले विदेशमा अध्ययन गर्दा देशको गरिमा जोगाउनुका साथै भाषा, संस्कृति र पहिचान संरक्षण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा गायिका सम्झना रानपाल तथा नृत्यांगना लक्ष्मी बस्नेत, शिल्पा मगर र बबिता धितालको आकर्षक सांस्कृतिक प्रस्तुति रहेको थियो।

विद्यार्थीहरू जापान जान पाउँदा निकै उत्साहित देखिए। उनीहरूले अध्ययन यात्रालाई सफल बनाउँदै उज्ज्वल भविष्य निर्माण गर्ने दृढ संकल्प व्यक्त गरे।

करियर प्लानिङ एजुकेशन नेटवर्क प्रा. लि.का संस्थापक गोविन्द बस्नेतको अध्यक्षता, इक्यानका केन्द्रीय सदस्य देव बहादुर कुँवरको प्रमुख आतिथ्यता, इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डे र करियर एजुकेशनकी सञ्चालिका तुल्सी पौडेलको स्वागत तथा सुमन श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो।

करियर प्लानिङ एजुकेशन नेटवर्क प्रा. लि.को मुख्य कार्यालय बुटवल पुष्पलाल पार्कमा रहेको छ। प्रालिको शाखा कार्यालयहरू भैरहवा र काठमाडौं मा रहेका छन्।

You may also like

This will close in 0 seconds