रुपन्देही जिल्लामा आयोजना हुँदै आएको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता यस क्षेत्रकै प्रतिष्ठित र सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो। यस वर्ष २३औं संस्करण चैत्र ९ गतेदेखि सुरु हुँदैछ। रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देवीनगरस्थित एन्फा एकेडेमी मैदानमा हुने प्रतियोगिता नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्यागउँदै आएको छ ।
यस पटकको विजेताले १२ लाख १२ हजार २२२ रुपैयाँ र उपविजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा नेपालका चर्चित क्लबहरूसँगै भारतका दुई क्लबहरू पनि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको तयारी, व्यवस्थापन, स्थानीय खेलाडीहरूको अवसर र भविष्यका योजनाबारे संयोजक तथा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनसँग समतल कर्मी सन्त कुमार श्रेष्ठले लिइएको विशेष अन्तर्वार्ता यहाँ प्रस्तुत छ ।
तिलोत्तमा गोल्डकपको तयारी कस्तो छ ?
तिलोत्तमा गोल्डकपको तयारी पूरा भइसकेको छ। हामीले करिब २ महिनासम्म निरन्तर तयारी गर्दै सम्पूर्ण व्यवस्थापन पूरा गरेका छौं। प्रतियोगितालाई अझ व्यवस्थित बनाउन विशेष ध्यान दिइएको छ। खेल मैदानलाई स्तरीय बनाउन धेरै सुधारहरू गरिएको छ। मैदान सम्याउने, प्याराफिटको सुधार, रंगरोगन, शौचालय निर्माण, सुरक्षाका लागि व्यवस्थापन जस्ता कार्यहरू पूरा भइसकेका छन् ।
यस पटक हामीले २ दशकपछि खेल मैदानलाई स्तरीय बनाएर खेल सञ्चालन गर्न लागेको छौं। साथै, प्रतियोगितालाई अझ व्यवस्थित बनाउन फिफा रेफ्रीहरूबाट खेल सञ्चालन गरिनेछ। प्राविधिक टोली पनि तयारी अवस्थामा छ। प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू जुटाइसकिएको छ । दर्शकहरूको सुविधालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत मजबुत पारिएको छ।
यस पटक प्रतियोगितामा कति टिम खेल्दैछन् ?
👉 यस वर्षको तिलोत्तमा गोल्डकपमा नेपाल र भारतका गरी ८ टिम प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट रुपन्देही ११, चर्च ब्वाइज युनाइटेड, एपीएफ, संकटा एफसी, मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब सहभागि छन् भने भारतबाट जर्जियन एफसी र एडोर्न गडवाल स्पोर्टिङ क्लब खेल्दैछन्।
यी ८ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइने छ। समूह ‘ए’ मा आयोजक रुपन्देही ११, एपीएफ, संकटा एफसी र जर्जियन एफसी रहेका छन्। समूह ‘बी’ मा चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लब रहेका छन्।
अघिल्लो वर्षभन्दा के फरक हुनेछ ?
यो वर्ष प्रतियोगिता अझ प्रतिस्पर्धात्मक हुनेछ। पहिलो कुरा, पुरस्कार राशिमा वृद्धि गरिएको छ, जसले खेलाडीहरूको मनोबल बढाउनेछ। खेल प्राविधिक रूपमा अझ स्तरीय बनाइएको छ, जसका लागि अनुभवी रेफ्रीहरू नियुक्त गरिएका छन्।
यस पटक प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता बढाइएको छ। भारतका दुई टोलीहरू प्रतिस्पर्धामा रहेका छन्, जसले नेपाली खेलाडीहरूलाई उच्चस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर दिनेछ। साथै, प्रतियोगिताको व्यवस्थापन अझ व्यवस्थित बनाइएको छ। सुरक्षाको विशेष ध्यान दिइएको छ, खेलाडी र दर्शकहरूलाई सहज अनुभव प्रदान गर्न आवश्यक सम्पूर्ण पूर्वाधार तयार पारिएको छ।
प्रतियोगिता सञ्चालन गर्न बजेट कसरी जुटाइएको छ ?
तिलोत्तमा गोल्डकप २०३१ सालमा स्थापना भई २०३३ सालदेखि सञ्चालन हुँदै आएको प्रतियोगिता हो। यस पटक प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न विभिन्न स्रोतहरूबाट बजेट जुटाइएको छ। बुटवल उपमहानगरपालिकाले ४० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
यस प्रतियोगिताका मुख्य प्रायोजक करेन्ट चाउचाउ रहेको छ। यसका साथै, विभिन्न संघसंस्थाहरू, निजी क्षेत्र, व्यवसायीहरू र अन्य सहयोगी संस्थाहरूको समेत आर्थिक सहयोग रहेको छ। स्थानीय व्यवसायी तथा खेलप्रेमीहरूको सहयोगले गर्दा प्रतियोगिता अझ भव्य रूपमा आयोजना गर्न सक्ने भएको छ।
स्थानीय खेलाडीहरूलाई कस्तो अवसर छ ?
यस पटक स्थानीय खेलाडीहरूलाई विशेष अवसर दिइएको छ। बुटवल र रुपन्देहीका उत्कृष्ट खेलाडीहरूले बि–डिभिजन खेल खेलेका छन् र उनीहरूको अनुभवलाई ध्यानमा राख्दै प्रतियोगितामा सहभागी गराइएको छ।
रुपन्देहीका उत्कृष्ट खेलाडीहरूमध्ये केही खेलाडीहरू नेपाल सुपर लिगका विभिन्न क्लबहरूसँग अनुबन्ध भइसकेका छन्। स्थानीय खेलाडीहरूको अनुभव बढाउनका लागि अन्तर्राष्ट्रिय खेलाडीहरूसँग मिश्रित टिम बनाइएको छ। यसले उनीहरूलाई खेलमा नयाँ रणनीति सिक्न र अनुभव बटुल्न सहयोग पुर्यारउनेछ।
स्थानीय खेलाडीहरूको भविष्य उज्ज्वल बनाउन हामीले विशेष उपसमिति गठन गरेका छौं, जसले भविष्यमा खेलाडीहरूको विकास र प्रशिक्षणमा ध्यान दिनेछ।
दर्शकहरूका लागि के–कस्ता सुविधा उपलब्ध छन् ?
दर्शकहरूको सुविधालाई मध्यनजर गर्दै यस पटक विशेष व्यवस्थाहरू गरिएको छ। प्रत्येक टिकटमा मुख्य प्रायोजक करेन्ट चाउचाउको तर्फबाट निःशुल्क चाउचाउ प्रदान गरिनेछ। सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको छ, ताकि खेल शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सकियोस्।
खेल हेर्न आउने जेष्ठ नागरिकहरूलाई विशेष सम्मानसहित सिटको व्यवस्था गरिएको छ। साथै, टिकट दर १०० र २०० रुपैयाँ तोकिएको छ, जसले गर्दा सबै वर्गका दर्शकहरू सहजै खेल अवलोकन गर्न सकून्।
भविष्यमा यो प्रतियोगितालाई अझ स्तरीय बनाउन के योजना छन् ?
हामी तिलोत्तमा गोल्डकपलाई नेपालकै सर्वश्रेष्ठ प्रतियोगिता बनाउन निरन्तर सुधार गर्दै जानेछौं। अहिले आहा रारा गोल्डकप, खप्तड गोल्डकप, बुढासुब्बा गोल्डकप नेपाली फुटबलमा प्रतिष्ठित प्रतियोगिता मानिन्छन्। आगामी वर्षहरूमा तिलोत्तमा गोल्डकपलाई अझ उच्च स्तरमा पुर्या्एर अन्तर्राष्ट्रिय क्लबहरू समेत सहभागी गराउने योजना बनाएका छौं।
भविष्यमा प्रतियोगिताको स्तर अझै उकास्नका लागि प्रविधिको राम्रो उपयोग गर्ने, खेल मैदानको स्तरोन्नति गर्ने, अन्तर्राष्ट्रिय टिमहरूको सहभागिता बढाउने र प्रतियोगिताको पुरस्कार राशि अझ वृद्धि गर्ने लक्ष्य छ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सम्पूर्ण खेलप्रेमी दर्शकहरूलाई खेल अवलोकन गर्न हार्दिक निमन्त्रणा दिन चाहन्छु। तिलोत्तमा गोल्डकप नेपाली फुटबलको विकासमा ठूलो योगदान दिने प्रतियोगिता हो। बुटवल–११, देवीनगर रंगशालामा आयोजना हुने यो खेलमा तपाईंहरूको उपस्थितिले प्रतियोगिता झन् रोमाञ्चक बन्नेछ।
हामी प्रतियोगितालाई सफल बनाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेका छौं। तपाईंहरूको साथ र समर्थनले नेपाली फुटबललाई अझ माथि पुर्या्उन सकिन्छ। “सम्पूर्ण दर्शक तथा फुटबलप्रेमी महानुभावहरू, आउनुहोस्, नेपाली फुटबललाई साथ दिउँ!“