बुटवल ।रूपन्देहीकाे सामाजिक कार्यमा सक्रिय संस्था “नमस्ते नेपाल लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशकाे यातायात व्यवस्था कार्यालय, बुटवल १२ बेलबासमा भइरहेका अनियमितता, ढिलासुस्ती, र भ्रष्टाचारविरुद्ध गम्भीर ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ। आइतवार, संस्थाका लुम्बिनी प्रदेशका अध्यक्ष जीवन पाण्डे को नेतृत्वमा सो ध्यानाकर्षण पत्र बुझाइएको थियो।
यसमा, यातायात कार्यालयका सेवाग्राहीहरूले भोगिरहेको प्रमुख समस्याहरूको उल्लेख गर्दै शीघ्र समाधानको माग गरिएको छ।
ज्ञापनपत्र, यातायात कार्यालयका सूचना अधिकारी खगराज उपाध्यायलाई नमस्ते नेपाल केन्द्रका संस्थापक अध्यक्ष अर्जुन खरेल, लुम्बिनी प्रदेशका अध्यक्ष जीवन पाण्डे र अन्य सदस्यहरूको उपस्थितिमा बुझाइएको हो।
स्मार्ट लाइसेन्स वितरणमा अत्यधिक ढिलाइ भएको र ट्रायल पास गरेको वर्षौं बितिसक्दा पनि सेवाग्राहीहरूले स्मार्ट लाइसेन्स नपाएको गुनासो आएको छ। यसकारण लाइसेन्स वितरण प्रक्रिया छिटो र सहज बनाउन माग गरिएको छ।
अवैध लाइसेन्स वितरणका बारेमा पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ। धेरै सेवाग्राहीहरूले घुस दिएर लाइसेन्स प्राप्त गरेका छन्, जसले अयोग्य चालकहरूलाई सडकमा ल्याउने जोखिम बढाएको छ।
दलालहरूको हस्तक्षेप पनि प्रमुख समस्या बनेको छ। सेवाग्राहीहरूले दलालहरूबाट अनावश्यक रकम असुली गर्दा र अव्यवस्थित सेवा प्रदान गर्दा कार्यालयको प्रशासनिक क्षमता कमजोर भएको देखिन्छ।
सार्वजनिक सेवामा ढिलासुस्ती र सिफारिसको खेल चलिरहेको हुँदा साधारण सेवाग्राहीहरूलाई घण्टौँ लाइनमा बस्नुपर्ने स्थिति सिर्जना भएको छ, जबकि सिफारिसमार्फत आउने व्यक्तिहरू तुरुन्तै सेवा प्राप्त गरिरहेका छन्।
प्रविधिको अभाव र कमजोर डिजिटल सेवाले पनि समस्यालाई थप जटिल बनाएको छ। डाटाबेस सुरक्षित नभएको र नियमित अद्यावधिक नगरेको कारण सेवाग्राहीहरूलाई समस्यामा परेका छन्।
यातायात नियमबारे जनचेतनाको कमी र ट्राफिक नियमको अपर्याप्त तालिमले सडक दुर्घटना, ट्राफिक जाम र अव्यवस्थित पार्किङ जस्ता समस्याहरूलाई बढाएको उल्लेख गरिएको छ।
समस्या समाधानको लागि, “नमस्ते नेपाल” ले यातायात कार्यालय सुधार गर्न, प्रविधिमा सुधार ल्याउन, लाइसेन्स वितरणलाई तीव्र बनाउन र दलालमुक्त सेवा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। संस्थापक अध्यक्ष अर्जुन खरेलका अनुसार, यदि सुधार समयमै लागू नगरेको खण्डमा थप दबाबमूलक कार्यक्रमहरूको आयोजना गर्ने बताएका छन् ।