बुटवल । फागूपूर्णीमाको अवसरमा बुटवल उद्योग वाणिज्य संघ बुटवलले बिहीबार होली मिलन कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा सहभागीहरुले विविधतामा एकता र सांस्कृतिक सहिष्णुताको महत्वलाई विशेष रूपमा उजागर गरेका छन्।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फागुपर्वले नेपालीहरूलाई सांस्कृतिक एकताको सूत्रमा बाँध्ने काम गरेको बताउँदै यसले आपसी सद्भाव र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्दै आएको उल्लेख गरे। उनले नेपाली समुदायले मनाउने चाडपर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
उनले बुटवल उपमहानगरपालिकाले विकास निर्माणका साथै सामाजिक, आर्थिक र धार्मिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पु¥याउँदै आएको बताउँदै ‘समानता, स्वाभिमान र अवसरः बस्नयोग्य बुटवल शहर’को सपना साकार पार्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले संघले स्थापना कालदेखि नै फागूपूर्णीमालाई विशेष पर्वको रूपमा मनाउँदै आएको स्मरण गराउँदै अग्रजहरूको देखेको सपना साकार पार्न सबैले सहकार्य गर्नुपर्ने बताए।
संघका पूर्वअध्यक्ष अर्जुनमान शैंजूले फागु पर्वले धार्मिक एकता मजबुत पार्ने उल्लेख गर्दै सामाजिक एकताको माध्यमका रूपमा यसको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।
त्यसैगरी, बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले बुटवलको समग्र विकासका लागि सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताए।
नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, रुपन्देही व्यापार संघका सचिव मनहरी बस्याल, उद्योग व्यापार संघ बुटवलका महासचिव यमलाल मरासिनी, बुटवल उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रम बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको धन्यवाद ज्ञापन तथा महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो।