भैरहवा। नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले संविधान संशोधनका लागि एक महिनाभित्र कांग्रेस र एमालेबीच संयन्त्र बनाइने बताएका छन्। उनले संविधान संशोधनका विषयमा दुई दलबीच छलफल भइरहेको र संयन्त्र गठन गरेर यसलाई अघि बढाउने योजना रहेको उल्लेख गरे।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको विषयमा आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले भने, “संयन्त्र बनेपछि सरकारमा सहभागी दल र प्रतिपक्षी दलहरुसँग छलफल गरिने छ। संविधानलाई सबैको साझा, प्रगतिशील र समावेशी बनाउने उद्देश्यले संशोधनका विषयमा छलफल हुनेछ।”

अर्को प्रसंगमा, खड्काले संसदमा पेश भएको सामाजिक सञ्जाल सम्बन्धी विधेयकलाई जस्तोको त्यस्तै पारित नहुने दावी गरे। उनले भने, “संविधानले दिएको अधिकारलाई रक्षा गर्दै सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमन गर्ने प्रयास गरिन्छ।”
सोमबार र मंगलबार भैरहवामा हुने दुईदिने प्रशिक्षण कार्यक्रममा पार्टीको आन्तरिक नीति, आगामी यात्रा, क्रियाशिल सदस्यता, नविकरण, समसामयिक मुद्दा र सरकारले गरेका कामका विषयमा व्यापक छलफल हुने उनले जानकारी दिए। यस कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन्।
प्रशिक्षण कार्यक्रममा क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति लगायतका नेताहरूको सहभागिता रहनेछ। नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आतिथ्यतामा कार्यक्रम आयोजना हुने क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए। क्षेत्रीय सचिव तथा प्रवक्ता लेखनाथ भट्टराईका अनुसार, कार्यक्रम सोमबार (भोली) बिहान १०ः३० बजे सुरु हुनेछ।