बुटवल । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नाराका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुटवलमा शक्ति प्रदर्शन गर्दै शनिबार विशाल आमसभा गर्ने तयारी गरेको छ। लुम्बिनी प्रदेशस्तरीय यो ऐतिहासिक आमसभा ट्राफिकचोकमा आयोजना गरिने भएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप कुमार उदयले सातै प्रदेशमा जारी जनजागरण अभियानको एक महत्वपूर्ण कडीको रूपमा बुटवलमा आमसभा हुन लागेको जानकारी दिए। उनका अनुसार देशभर व्याप्त विसंगति, विकृति, भ्रष्टाचार र पार्टीको भावी योजनाबारे जनतालाई जानकारी गराउने उद्देश्यले सभा आयोजना गरिएको हो।

सभामा पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरू आमसभालाई सम्बोधन गर्नेछन्।
आमसभाअघि बुटवलको बसपार्क र लायन्स आँखा अस्पतालबाट दुईवटा बृहत् र्याली निकालिनेछ। बसपार्कबाट निकालिने र्यालीको नेतृत्व अध्यक्ष लिङ्देन, उपाध्यक्षद्वय पाण्डे र प्रधान तथा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष थापाले गर्नेछन् भने लायन्स आँखा अस्पतालबाट निस्कने र्यालीको नेतृत्व महामन्त्री राणा र प्रवक्ता शाहीले गर्नेछन्।
राप्रपाका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट हजारौं नेता, कार्यकर्ता तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहने अपेक्षा गरिएको छ। सभा शनिबार दिउँसो १२ बजेदेखि सुरु हुनेछ।