महाशिवरात्रि अवसरमा सिद्धबाबा मन्दिरमा भव्य मेला, ५० हजार भक्तजनको अपेक्षा

by समतल अनलाइन

बुटवल। महाशिवरात्रि पर्वको अवसरमा सिद्धबाबा मन्दिरमा लाग्ने विशेष मेलाका सम्पूर्ण तयारी पूरा भएका छ ।

सिद्धबाबा मन्दिर विकास समितिले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भक्तजनहरूलाई सहज रूपमा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ।

पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा मन्दिरलाई महाशिवरात्रिको अवसर पारेर विशेष रूपमा सिँगारिएको छ। भक्तजनहरूको सुविधाका लागि टोकन प्रणाली र निःशुल्क बस सेवासमेत उपलब्ध गराइएको छ। मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनका अनुसार वृद्धवृद्धा, अशक्त तथा असहाय भक्तजनहरू सिधैँ मूल मन्दिरमा गएर पूजा गर्न सक्नेछन्।

दर्शनार्थीहरूको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी, १५० भन्दा बढी स्वयंसेवक र १८ वटा सिसी क्यामेराको निरन्तर निगरानी रहने व्यवस्था गरिएको छ। साथै, मन्दिर क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको उचित प्रबन्ध गरिएको छ।

गत वर्षको महाशिवरात्रिमा ३५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए। यस वर्ष ५० हजारभन्दा बढी भक्तजन भित्र्याउने लक्ष्यसहित तयारी गरिएको अध्यक्ष शेरचनले बताए। दर्शनका लागि बिहान ४ बजेदेखि मूल मन्दिर खुला गरिने प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेले जानकारी दिए। पहिले भक्तजनहरूलाई २-३ घण्टासम्म प्रतीक्षा गर्नुपर्ने बाध्यता रहेकोमा यस वर्ष ४ वटा लाइनको व्यवस्था गरी १ घण्टा भित्रै दर्शन सम्पन्न गर्न सकिने व्यवस्था मिलाइएको छ।

बुटवलका विभिन्न स्थानबाट मन्दिरसम्म पुग्न भक्तजनहरूका लागि दुईवटा निःशुल्क तथा सातवटा सशुल्क बसको व्यवस्था गरिएको महाशिवरात्रि मेला संयोजक तोया लम्सालले जानकारी दिए। बुटवलको योगीकुटी, कालिकानगर, अस्पताल लाइन, देबिनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक र गोलपार्कबाट बस सेवा उपलब्ध हुनेछ। यो सेवा दिनभर सञ्चालन गरिनेछ।

सिद्धबाबा मन्दिरलाई पश्चिम नेपालको पशुपतिनाथका रूपमा विकास गर्ने लक्ष्यअनुसार मुख्य मन्दिरको जिर्णोद्धार प्रक्रिया अघि बढाइएको अध्यक्ष शेरचनले बताए। नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरू आउने धार्मिक तथा ऐतिहासिक स्थल सिद्धबाबामा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

 
 
  
 

You may also like