काठमाडौँ । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा विद्यार्थीहरूले हडताल जारी राखेका छन् ।
नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि विद्यार्थीहरूले आज पनि प्रदर्शन तथा हडताल गरेका हुन् । त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार विद्यार्थीहरूले आज कलेजमै विरोध प्रदर्शन गरेका हुन् । नेपाली विद्यार्थीको मृत्यु प्रकरणपछि कलेज प्रशासनबाट भएको नेपाली विद्यार्थी दुर्व्यवहारमा भारतीय विद्यार्थीहरूले अग्रपंक्ति खटिएर आन्दोलन गर्न थालेका हुन् ।
केआईआईटीका अधिकारीहरूको व्यवहारका कारण नेपाली विद्यार्थी त्रसित बन्न पुगेको भन्दै भारतको सत्तारुढ भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्को नेतृत्वमा आन्दोलन थालिएको हो । केआईआईटीका अधिकारीहरूले आन्दोलनरत विद्यार्थीहरूलाई कन्भिन्स गर्न खोजिरहेका छन् । तर, उनीहरूले दोषीमाथि कारबाही हुनुपर्ने, नेपाली विद्यार्थीलाई कलेजबाट निकालेर घर पठाउनेहरूमाथि अनुसन्धान गरेर कारबाही गरिनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका हुन् ।
केआईआईटीले नेपाली विद्यार्थीहरूलाई हिजो नै कलेज फर्किन अनुरोध गरेको थियो । उक्त घटनापछि विद्यार्थीको सुरक्षाका लागि सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको बताउँदै आएको केआईआईटीले सोमबार राति अर्को विज्ञप्ति जारी गर्दै कलेजमा फर्केर पठनपाठनमा सहभागी हुन अनुरोध गरेको थियो ।
फर्किनका लागि विद्यार्थीहरूले भने विभिन्न आठ बुँदे सर्तहरू राखेका छन् । भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका नेपाली विद्यार्थीहरूले पुनः होस्टेल फर्केर पठनपाठनमा सहभागिता जनाउनका लागि आठ बुँदे शर्तहरू राखेका हुन् ।
१. न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।
२. प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।
३. पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ । ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनु पर्छ ।
४. नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ । यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ ।
५. विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ ।
६. सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनु पर्छ ।
७. विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्छ । होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नु पर्छ ।
८. कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको) लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।