बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसमा विशेष कार्यक्रम आयोजना

by समतल अनलाइन
Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६६ औं स्थापना दिवस भव्य रूपमा मनाइरहेको छ। वि.सं. २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिकाका रूपमा औपचारिक रूपमा स्थापना भएपछि हरेक वर्ष फागुन ३ गते स्थापना दिवस मनाउने परम्परा रहँदै आएको छ।

बुटवल उपमहानगरपालिकाले यस अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ। आज मुख्य समारोहसहित सम्मान कार्यक्रम आयोजना गरिएको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए। समारोहका प्रमुख अतिथि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह रहनेछन्। कार्यक्रममा उत्कृष्ट करदाता, कर्मचारी, टोल विकास संस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी, सञ्चारकर्मी लगायत विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान तथा पुरस्कृत गरिने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।

बुटवल नगरपालिकाको नेतृत्वको लामो इतिहास छ। वि.सं. २०१६-२०१७ मा पहिलो नगर प्रमुख मुन्निलाल शाक्य थिए। त्यसपछि वि.सं. २०१९-२०२३ मा ओमशंकर श्रेष्ठ, २०२४-२०२६ मा परीक्षितप्रसाद लाकौल, २०२६-२०२८ र २०३३-२०३६ मा सरस्वतीप्रसाद शेरचन, २०२८ मा हरिबहादुर सिंह (जो चार कार्यकालसम्म प्रधानपञ्च रहे), २०३० मा सूर्यलाल, २०३६-२०३९ मा बृजमान श्रेष्ठ प्रमुख बने। प्रजातन्त्र पुनःस्थापना भएपछि २०४९-२०५३ मा सूर्यप्रसाद प्रधान, २०५४-२०५९ मा भोजप्रसाद श्रेष्ठ नगर प्रमुख रहे। २०६० मा सूर्यबहादुर थापा नेतृत्वको सरकारले पुनाराम पोखरेललाई मनोनित गर्यो। माघ १९ पछिको शाही सरकारको चुनावमा रुपसिंह थापा नगर प्रमुख बने पनि लोकतन्त्रपछिको सरकारले निर्वाचन नै खारेज गर्‍यो। १५ वर्ष जनप्रतिनिधिविहीन रहेको बुटवल उपमहानगरपालिकामा २०७४ मा शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख निर्वाचित भए भने २०७९ को निर्वाचनमा खेलराज पाण्डेय नगर प्रमुख र सावित्रादेवी अर्याल उपप्रमुख बने।

बुटवल–खस्यौली नगरपञ्चायत नामबाट परिचित यो क्षेत्र वि.सं. २०४६ पछि बुटवल नगरपालिका भनिन थाल्यो। वि.सं. २०७१ साल मंसिरमा यसलाई उपमहानगरपालिकामा स्तरोन्नति गरियो। विगतमा बटौली बजार (तिनाउ नदीपारि) प्रमुख व्यापारिक केन्द्र थियो। वि.सं. २०३५ मा नगर कार्यालय हाटबजार लाइनमा सारियो। खस्यौली क्षेत्रमा व्यापार र पूर्वाधार विस्तार भएसँगै बुटवल मुख्य सहरको रूपमा विकास भयो। ५०० वर्षअघि पाल्पाली राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधन व्यापारीहरूलाई यहाँ ल्याए। वि.सं. १९९५ तिर मुस्ताङबाट थकालीहरू बुटवल आए। बटौली बजार व्यापारिक केन्द्र बनेर ल्हासाको नुन, सुन, पहाडको जडिबुटी, घिउ, तेल आदिको कारोवार हुने स्थान रह्यो।

बुटवल उपमहानगरपालिकाको औपचारिक जनसंख्या करिब २ लाख भए पनि अनौपचारिक रूपमा बसोबास गर्नेहरूको संख्या पनि उति नै रहेको अनुमान छ। आज ६ लेनका फराकिला सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलजस्ता पूर्वाधारहरू निर्माण हुँदै गर्दा बुटवल पश्चिम नेपालको व्यापारिक र शैक्षिक केन्द्रको रूपमा अघि बढिरहेको छ। स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिकालाई उज्ज्वल भविष्यको शुभकामना!

!

You may also like