चितवन । चितवन जिल्ला अदालतले साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । आज थुनछेक बहस नसकिएपछि रविलाई न्यायिक हिरासत पठाइएको हो । न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो । आजै उनको बयान सकिए लगत्तै थुनछेक बहस सुरू भएको थियो । लामिछानेको करिब ४ घण्टा लामो बयान लिइएको थियो ।
लामिछानेविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बहस भइरहेको हो । आज सरकारी वकिलहरूले बहस गरेका थिए । थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ । सरकारी तर्फबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने र सहायक न्यायाधीवक्ता बुद्धबहादुर थापाले बहस गर्नेछन् । यता मुद्दाका प्रतिवादी लामिछानेको तर्फबाट १० जना कानुन व्यवसायीहरूले बहस गर्ने जनाइएको छ ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुशील कुमार पन्त र धर्मराज आचार्य र अधिवक्ताहरू डा. नारायण दत्त कडेल,चुडामणी सापकोटा,रामचन्द्र देवकोटा,सुवर्ण सापकोटा, सञ्जय गोले,गोपीलाल देवकोटा,केदारराज पन्त र दिपकराज तिमल्सेनाले वकालतनामा भरेको जनाइएको छ । यसैगरी सहकारी पीडितको तर्फबाट बहस पैरवी गर्न वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालतनामा दर्ता गराएका छन्। लामिछानेविरुद्ध मंगलबार चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम ठगी कसूरमा अदालतमा मुद्दा दर्ता भएको छ ।
उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ । यसअघि थुनछेक बहस हेर्दाहेर्दैमा हुँदा कास्की र काठमाडौँ अदालतले उनलाई हिरासतमा राख्ने आदेश दिएका थिए । रुपन्देहीमा भने पत्नीको जिम्मामा पठाइएको थियो । यी तीनवटै अदालतबाट उनी धरौटीमा रिहा भएका थिए । चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोगपत्र दर्ता भएको थियो । अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए ।
यो मुद्दाका अरू धेरै प्रतिवादी फरार छन् । केही थुनामा भए पनि थुनछेक बहस रविबाट सुरु भएको हो । चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग छ। यसमा रवि, छवि, जीबी र कुमार रम्तेलको संलग्नता रहेको दाबी छ । उनीसहित २० जनालाई ठगीमा प्रतिवादी बनाइएको छ । अरु १२ जनालाई मात्रै संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ ।
000000