काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सात खर्ब ६३ अर्ब आठ करोड रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार पुस महिनामा मात्रै एक खर्ब २३ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । जुन मंसिर महिनाको तुलनामा ५ अर्बले धेरै हो । गत मंसिरमा एक खर्ब १८ अर्ब रेमिटेन्स भित्रिएको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो । यस वर्ष वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा भने सुधार देखिएको छ ।
यस वर्ष ६ महिनामा नयाँ श्रम स्वीकृति (संस्थागत-व्यक्तिगत) लिने नेपालीको संख्या २ लाख ३० हजार ४ सय ३९ र पुनः श्रम स्वीकृति (संस्थागत-व्यक्तिगत) लिनेको संख्या १ लाख ६२ हजार ६ सय २८ रहेको छ । अघिल्लो वर्ष यसै अवधिमा यो संख्या क्रमशः २ लाख ६ हजार ३ सय ९० र १ लाख ३३ हजार ९ सय ४० थियो। ६ महिनामा खुद द्वितीय आय (ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड थियो ।