बुटवल। जन्मदिन मनाउने परम्परागत तरिकाहरू परिवर्तन हुँदै गएका छन्। केवल केक काटेर रमाइलो गर्ने मात्र होइन, सामाजिक कार्य गर्दै जन्मदिनलाई अर्थपूर्ण बनाउने नयाँ संस्कृति विकास भइरहेको छ। यसै क्रममा, पछिल्लो समय जन्मदिनको अवसरमा वृक्षारोपण गर्ने चलन लोकप्रिय बन्दै गएको छ।
विगत पाँच वर्षदेखि जन्मदिनमा वृक्षारोपण गर्दै आएको नमस्ते नेपाल संस्थाले यो अभियानलाई अझ व्यापक बनाउने उद्देश्यसहित माघ १५ गतेदेखि औपचारिक रूपमा “जन्मदिनको स्मारक पार्क” अभियान सञ्चालन गरेको छ। यसै अभियानअन्तर्गत संस्थाका कोषाध्यक्ष वरदान आचार्यको जन्मदिनको अवसरमा तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगर दुर्गादत्त माविको प्राङ्गणमा वृक्षारोपण गरिएको छ। नमस्ते नेपालका अध्यक्ष मनिष भुसालका अनुसार अब अभियानलाई अझ व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाइनेछ।
सोही अभियानलाई निरन्तरता दिँदै बिहीबार तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको जन्मदिनमा पनि वृक्षारोपण गरियो। प्रमुख खाँणले नमस्ते नेपालका युवाहरूलाई “देशमा आशाको ज्योति” भन्दै सराहना गरे। उनले वर्तमान समयमा युवाहरू विदेशिने क्रम बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै, स्वदेशमै सकारात्मक कार्य गर्ने यस्ता अभियानहरू प्रेरणादायी रहेको बताए।
नगरप्रमुख खाँणको जन्मदिनको अवसरमा जन्मदिनको स्मारक पार्कमा फोस्टेल पाम र म्याग्नस ट्रिज जस्ता बिरुवा रोपिएको छ, जसले विद्यालयको वातावरणलाई हराभरा र स्वस्थ बनाउने अपेक्षा गरिएको छ।
यो अभियानलाई अझ संस्थागत गर्दै शंकरनगर दुर्गादत्त माविको प्राङ्गणमा “जन्मदिनको स्मारक पार्क” निर्माण गरिँदै छ। आउँदो माघ २१ गते नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भव्य रूपमा पार्कको उद्घाटन गरिने छ।
हरियाली प्रवर्द्धन तथा विपद् व्यवस्थापन समिति संयोजक ईश्वरी भण्डारीले नमस्ते नेपालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। संस्थापक अध्यक्ष अर्जुन खरेलका अनुसार जन्मदिनको अवसरमा सकारात्मक सन्देश दिनका लागि यस अभियानलाई नमुना रूपमा विकसित गरिनेछ।
विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले यो क्षेत्रकै सबैभन्दा पुरानो विद्यालयमा यस्ता उदाहरणीय काम हुनु गौरवको विषय भएको बताए। वृक्षारोपण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कडेल, शिक्षक अभिभावक संघका अध्यक्ष पुरुषोत्तमनाथ पन्थ, सहायक प्रधानाध्यापक प्रकाशलाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य रेश्मीराज पाण्डे, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता मनिष भुसालले गरेका थिए।
यो अभियानले जन्मदिन मनाउने परम्परागत शैलीमा परिवर्तन ल्याउँदै, वातावरण संरक्षणको सकारात्मक सन्देश दिने महत्त्वपूर्ण कार्य गरेको नमस्ते नेपालका सदस्यहरू बताउँछन्।