लुम्विनी प्रदेश सरकारको र व्यक्तिगत तर्फबाट आश्रमलाई निरन्तर रूपमा सहयोग गर्न प्रतिवद्धता गर्दछु स् मुख्यमन्त्री आचार्य

by समतल अनलाइन

तिलोत्तमा । मानवसेवा आश्रम लुम्बिनी प्रदेशको तिलोत्तमा शाखाको नवनिर्मित भवनको औपचारिक उद्घाटन भएको छ । लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यले भवनको औपचारिक उद्घाटन गर्नु भएको हो ।
समुद्घाटन कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री आचार्यले कुनै पनि मान्छे खान,लाउन र बस्न नपाएर मर्न नपर्ने मुलुक बनाउन मानवसेवा आश्रमले खेलेको भूमिकाको प्रशंसा गर्नु भयो । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले सडकआश्रित व्यक्तिहरूको अभिभावकत्व ग्रहण गरी उनीहरूको पुनः स्थापनालाई प्राथमिकता दिने बताउनुभयो । ‘कोही पनि भोकै बस्नुपर्ने छैन, सडकमा बास हुने अवस्था समाप्त पार्न सरकारले आवश्यक कार्यविधि बनाउनेछ’ मुख्यमन्त्री आचार्यले भन्नु भयाे, ‘कार्यविधि यसै वर्ष बनाउँछौँ ।’ आगामी वर्षका बजेट तथा कार्यक्रममार्फत आश्रमलाई दिगो रूपमा सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । साथै प्रदेशलाई खुला चौपायामुक्त बनाउने बताए ।

कार्यक्रममा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले कर्णाली र गण्डकी दुवै प्रदेश सहयोगापेक्षी सडकआश्रित मानव मुक्त प्रदेश घोषणा भइसकेको र चाँडै बागमती प्रदेश पनि सहयोगापेक्षी सडकआश्रित मानव मुक्त प्रदेश घोषणाका लागि कार्यविधि क्याविनेटमा पुगेको जानकारी गराउनु भयो । त्यस्तै चाँडै तिलोत्तमा नगरपालिकालाई पनि सहयोगापेक्षी सडकआश्रति मानवमुक्त नगर घोषणा गर्ने उहाँले बताउनु भयाे । अध्यक्ष अधिकारीले साेमबार उद्घाटन भएकाे भवन साढे ७ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको जानकारी गराउनु भयाे । प्रदेश र स्थानीय सरकारको १ करोड ८३ लाख सहयोग रहेको, बाँकी रकम विभिन्न दानदाताबाट संकलन गरिएको र भवनको पूर्ण निर्माणका लागि थप २ करोड बजेट आवश्यक पर्ने आश्रमले जनाएको छ ।

प्रदेश सरकार र मानवसेवा आश्रमकाे सहकार्यमा रूपन्देही लगायतका सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका लगायत स्थानीय तहका प्रमुख, उप्रमुख, उद्योगी–व्यवसायी, समाजसेवी लगायतको उपस्थिति थियो

कार्यक्रममा संविधान सभा सदस्य नेत्र पन्थी, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका लगायत स्थानीय तहका प्रमुख, उपप्रमुख, उद्योगी–व्यवसायी, समाजसेवी, अभिभावकहरू लगायतको उपस्थिति रहेको थियो ।

वि.सं २०७५ साल पुस ७ गते लुम्बिनी प्रदेशकाे रुपन्देही बुटवलमा घर भाडामा लिई मानवसेवा आश्रमकाे शाखा शुभारम्भ गर्दै आएकाेमा विगत २ वर्षदेखि तिलाेत्तमा-६ पश्चिमपहुनी (माेक्षधाम सेवा आश्रम) परिसरमा निर्माण भएकाे भवनबाट आश्रम सञ्चालनमा रहेकाे छ । तिलोत्तमा शाखाले हालसम्म १२ सय ५० जनाभन्दा बढी बेसहारा, असहाय, अपाङ्ग, मानसिक तथा शारीरिक रूपमा कमजोर मानिस, अभिभावकविहीन लगायत जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । आश्रमले ३ सय १५ जनाको सुखद् पारिवारिक पुनर्मिलन गरिसकेको छ ।

देशभर सार्वजनिक स्थल तथा खुला सडकपेटीमा जीवन बिताउन बाध्य हुनुभएका बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गरि नेपालभरि २०८२ सालभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्नका लागि वि.सं २०६९ सालदेखि निरन्तर आश्रमले मानवीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 
 
  
 

You may also like