बुटवल ।बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा सम्पन्न दोस्रो वडा स्तरीय लोक भजन प्रतियोगितामा बुटवल उपमहानगरपालिका वडा नं १७ स्थित मुक्तेश्वर शिव मन्दिर भजन समूहले प्रथम स्थान हासिल गरेको छ।
प्रतियोगितामा वडा नं १२ को परोपकार एकादशी भजन समूह द्वितीय, वडा नं ७ स्थित सिद्धेश्वर शिवालय मन्दिर भजन समूह तृतीय, र वडा नं ८ स्थित राधाकृष्ण मन्दिर भजन समूह सान्त्वना पुरस्कार विजेता बनेका छन्।
विजेता समूहहरूले क्रमशः ३० हजार, २० हजार, १५ हजार, र १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले “हाम्रो चाहना लोक संस्कृतिको जगेर्ना” नारासहित नयाँ पुस्तालाई मौलिक संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराए।
नगर प्रमुख पाण्डेयले लोक भजन हाम्रो परम्परागत संस्कृति र पहिचानसँग जोडिएकोले यसलाई जगेर्ना गर्न स्थानीय सरकारले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
दुई दिनसम्म चलेको प्रतियोगितामा बुटवल नगरभित्रका २६ वटा भजन समूहको सहभागीता रहेको थियो। विभिन्न विधामा उत्कृष्ट हुने समूहलाई समेत पुरस्कृत गरिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रमको निर्णायक मण्डलमा नारायण लेकाली, डिल्लीनारायण पाण्डेय, र नारायण भुसाल थिए। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दीपु मगरको अध्यक्षता र सचिव योगराज पोखरेलको सञ्चालन रहेको थियो।