बुटवल। रुपन्देहीको बुटवलमा दशौ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता एवं खेलकुद दिवस २०८१ सुरु भएको छ । एभरेष्ट इङ्लिस माबिको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा कुवरवर्ति ईगलिस बोर्डिङ स्कुलले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कुँवरवर्ति इङ्लिस बोर्डिङ स्कुलले जनज्योती माबिलाई २–० को सोझो सेटमा हराएको छ । यस्तै मंगलबारनै भएको अर्काे खेलमा देवदह इ.बो. मा.वि. ले होराइजन जि.बि.एस.लाई २–१ को सेटमा पराजित गरेको छ ।
त्यसैगरी तेस्रो खेलमा देवदह बुद्ध पब्लिकले मणिमुकुन्द स्कुललाई सोझो सेटमा पराजित गर्याे भने मंगलबारको चौथो खेलमा मदरटङ्गस इ.बो. स्कुलले ग्रिन प्लान्ट इ.बो. स्कुललाई सोझो सेटमा पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेको आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नगरका नीजि विद्यालयहरु खेलकुद गतिविधिमा अग्रसर रहेर खेलाडी उत्पादनमा महत्वपुर्ण योगदान दिएको बताउनुभयो ।
देशभरिकै पालिकामध्ये बुटवलले खेलकुदमा राम्रो बजेटको ब्यवस्थापन गरेको उहाँको दावी छ । विद्यालयस्तरमा हुने लगानी खेलाडी उत्पादनमा प्रभावकारी हुने भन्दै यसमा स्थानीय सरकार लागेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यालयमा बालबालिकाहरुमा लुकेर रहेका प्रतिभा प्रस्फुटन हुने गरि शैक्षिकसंगै अन्य धेरै गतिविधिहरुमा अग्रसर हुदै आएको बताए । खेलबाट नै देशको नाम कमाउने सक्ने गरि विद्यालय लागेको उल्लेख गर्दै उहाँले छात्रा भलिबल खेल र खेलाडी उत्पादनमा विद्यालयबाट विगत लामो समयदेखि लगानी गरेको बताउनुभयो । ‘दशौ संस्कारणमा आईपुग्दा धेरै राष्ट्रियस्तरमा खेलाडीहरु उत्पादन गर्न सफल भएको छ ।’– उहाँको भनाई छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल वडा नं ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगेनी, अभिभावक महासंघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही भलिबल संघका अध्यक्ष सुरेन्द्रकुमार शाक्य, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, लाफा समुहका अध्यक्ष बबिन थापा, मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारी, लखन ब्रदर्शका अध्यक्ष सुनिल क्षेत्रीलगायतले खेलकुद क्षेत्रको विकासमा राम्रा राम्रा खेलाडि उत्पादनमा विद्यालयहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । तीन दिनसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ भने यस्तै उपविजेता टिमलाई नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक अर्जुन घिमिरेले बताउनुभयो । प्रतियोगितामा रुपन्देहीका १६ टिमले प्रतिस्पर्धा गर्दैछन । अघिल्लो संस्करणमा आयोजक एभरेष्ट उपाधि विजेता रहेको थियो ।
यसैबीच खेलकुद दिवस अन्तरगत मंगलबार कक्षा ४ देखि १२ सम्म छात्र छात्राका १०० मि., ४०० मिटर ८०० मिटर दुरिका दौड, लङ जम्प, हाई जम्प, सटपुट, स्याक रेस, स्पुन रेस, स्किपिङ रेसलगायतका खेलहरु सम्पन्न भएकाछन् । यस्तै कक्षा नर्सरीदेखि ३ सम्म तातो आलु, स्विट रेस, ब्यालुन ब्लास्ट, बुक ब्यालेन्स, पेगिङ बास्केट, क्विक बल पिकअप लगायतका खेलहरु सम्पन्न भएको विद्यालयका शिक्षक माधव पौडेलले जानकारी दिनुभयो ।