बुटवल । मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको अधिवेशनमा केन्द्र, प्रदेश र जिल्लामा विभिन्न पदमा निर्वाचित पत्रकारहरूलाई बुद्ध सामुदायिक टेलिभिजनले एक विशेष कार्यक्रममार्फत सम्मान गरेको छ।
सम्मानित हुने पत्रकारहरूको सूचीमा केन्द्रीय सदस्य पदमा रामराज पोखरेल, प्रदेश पार्षद पदमा कपिल ज्ञवाली, ललित कुमार पाण्डेय र छाया पन्त, साथै जिल्ला सदस्य पदमा कल्पना डुम्रे ज्ञवाली, राम भण्डारी, रबिन्द्र गुप्ता, दिनेश श्रेष्ठ र अनिता चौधरी छन्।
कार्यक्रममा बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले पत्रकारिता गर्दा निष्पक्ष र समुदाय केन्द्रित हुनु पर्नेमा जोड दिएका छन्। “पत्रकारले सधैं निष्पक्ष भएर जनतालाई साँचो जानकारी दिनुपर्छ,” उनले भने।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले निर्वाचित हुनुभन्दा बढी कार्यकालको सफलता र प्रभावकारितामा जोड दिएका छन्। “समाजमा सकारात्मक परिवर्तन ल्याउन पत्रकारहरूले आफ्नो कार्यकाललाई जिम्मेवारीपूर्ण बनाउनुपर्छ,” उनले टिप्पणी गरे।
यसैगरी, वरिष्ठ पत्रकार हरिश ढकालले निर्वाचित पत्रकारहरूलाई महासंघ र पत्रकारिताको मर्यादा कायम राख्नका लागि गम्भीरता साथ काम गर्न सुझाव दिएका छन्।
कार्यक्रममा गोपाल ज्ञवाली, जेबी गुरुङ, र कपिल ज्ञवाली लगायतले पनि मन्तव्य प्रस्तुत गरे। कपिल ज्ञवालीले टेलिभिजनका १७ जना पत्रकारलाई महासंघको अधिवेशनबाट निर्वाचित भएको जानकारी दिएका थिए।