काठमाडौं । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ ले नेपाललाई ‘बीबी’ रेटिङ दिएको छ । विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये एक फिच रेटिङ्सले नेपाललाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको हो । यो भारतको भन्दा दुई स्थान तलको रेटिङ हो, तर अन्य दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा राम्रो हो ।
नेपालमा विदेशी मुद्रा सञ्चिति उत्कृष्ट भएको तथा बलियो आर्थिक वृद्धिको प्रक्षेपणका आधारमा फिचले नेपाललाई उस्तै अन्य देशको तुलनामा निकै उत्कृष्ट रेटिङ प्रदान गरेको हो । फिचले बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा राजनीतिक अस्थीरता र कमजोर प्रशासनिक प्रणाली रहेको जनाएको छ ।
यद्यपि कम ऋणभार लगायत सकारात्मक पक्ष रहेको प्रतिवेदनको निष्कर्ष छ । फिचले लेखेको छ, ‘नेपालमा कमजोर आर्थिक संरचना र प्राकृतिक प्रकोपका जोखिम कायम रहे पनि कम ऋणभार, बलियो विदेशी मुद्रा सञ्चिति र जलविद्युतको सम्भावनाले आर्थिक भविष्यलाई आशावादी बनाएको छ ।’
प्रतिवेदनमा नेपालको सरकारी ऋण कूल गाहर्स्थ उत्पादनको ४४ प्रतिशत पुगेको उल्लेख छ, जुन अन्य देशको औसतभन्दा कम हो । जलविद्युत् क्षेत्रले मध्यकालीन अवधिमा नेपालको आर्थिक वृद्धिमा योगदान पु¥याउने अपेक्षा प्रतिवेदनमा गरिएको छ । विदेशी मुद्रा सञ्चिति १३ अर्ब अमेरिकी डलर पुगेको र जसले एक वर्षसम्मको आयात खर्च धान्न पर्याप्त रहेको फिचले जनाएको छ । फिचले सन् २०१४ यता नेपालमा ८ पटक सरकार परिवर्तन भए पनि आर्थिक नीति र राजस्व व्यवस्थापनमा भने स्थायित्व देखिएको उल्लेख गएको छ ।
रेटिङ गर्न नेपालले अमेरिकाको फिच क्रेडिट रेटिङ कम्पनीसँग सम्झौता गरेको थियो । फिचले बीबी रेटिङ दिएका देशहरू आर्थिक प्रतिबद्धता पूरा गर्न नसक्ने जोखिममा रहने जनाएको छ । यो रेटिङ पाएका देशहरूको व्यापारिक वातावरण वा आर्थिक अवस्था समयसँगै प्रतिकूल दिशामा परिवर्तन भयो भने थप जोखिम हुन सक्ने फिचले उल्लेख गरेको छ । यस्तो रेटिङ पाउने देशहरूसँग आर्थिक र रणनीतिक लचकता भने हुने फिचको भनाइ छ । यो ‘स्पेकुलेटिभ’ श्रेणीमा पर्ने रेटिङ भएको र लगानीकर्ताहरूले जोखिमको मूल्यांकन सतर्कतापूर्वक गर्नुपर्ने फिचको भनाइ छ ।