काठमाडौंको फोहोर व्यवस्थापनमा संघीय सरकारले असहयोग गर्‍यो : मेयर बालेन शाह

by समतल अनलाइन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको बताएका छन् । काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित संघीय सरकारले असहयोग गरेको उनले आरोप लगाएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा पोस्ट गर्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउने गरी संघीय सरकारले असहयोग गरिरहेको बताएका हुन् । ‘हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो’, उनले भनेका छन् ।

विवादित नेपवेस्ट कम्पनीलाई नै फोहोर व्यवस्थापनको जिम्मा दिएर काठमाडौंको फोहोरमा एकाधिकार लाद्ने र दिगो समाधान नहुने बाटो तोड्न आफूहरु क्रियाशील रहेको मेयर बालेनले बताएका छन् । आफूहरुले वैधानिक मापदण्ड अनुसार नै टेन्डर गर्दा पनि नेपवेस्टले मुद्दा हालेको र मुद्दाको फैसला काठमाडौंकै पक्षमा आएको समेत उनले बताएका छन् ।

‘तर, सम्मानित अदालतले यो अधिकार काठमाण्डौ महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाण्डौको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ । फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौं,’ उनले भनेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन्। तर हामी रोकिने छैनौं ।’

मेयर बालेनले काठमाडौँको फोहोरको दिगो समाधान सम्भव रहेको र त्यो काठमाडौँसीको अधिकारको कुरा भएको पनि उल्लेख गरेका छन ्। ‘हामीले फोहोर थुपारेर बर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरेडाँडा लगायत स्थानका पीडितहरूको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको विषय हो’, उनले भनेका छन् ।

 
 
  
 

You may also like