अस्ट्रेलियाको सिड्नीमा नेपाली युवती पार्कमै मृत फेला

by समतल अनलाइन

अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवती पार्कमै मृत भेटिएकी छिन् । प्रहरीले उनलाई गए राति सिड्नीका सेन्ट्रलस्थित एक पार्कमा मृत फेला पारेको हो । अस्ट्रेलियास्थित नेपाली दूतावासले नेपाल युवती मृत भेटिएको पुष्टि गरेको छ ।

कार्यवाहक राजदूत कुलराज मगरले नेपाली युवतीको मृत्युबारेमा जानकारी आएको जनाएका छन् । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले समेत झापा घर भएकी २७ बर्षीया नेपाली युवतीको मृत्यु भएको र उनको परिवारलाई आवश्यकता अनुसार सहयोग गरिरहेको जनाएका छन् । नेपालस्थित परिवारले एनआरएनएलाई सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्न आग्रह गरेको छ ।

गोपनियताका कारण मृतकको नाम र अन्य विवरण सार्वजनिक गरिएको छैन । उनी विवाहपछि करिब चार महिनाअघि मात्र अस्ट्रेलिया पुगेको बताइएको छ । उनको मृत्युबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ । न्यू साउथ वेल्सका अवैतनिक वाणिज्यदूत सञ्जीव शर्माले घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले के कारणले घटना घटेको भन्ने बिषय प्रष्ट भइनसकेको बताएका छन् । करिब एक साताअघि मात्र एक नेपाली युवा सिड्नीमा नै मृत भेटिएका थिए । उनको शवलाई दुर्इ दिनअघि मात्र एनआरएनए लगायतका अन्य संघसंस्थाको सहयोगमा अन्तिम संस्कारका लागि नेपाल पठाइएको थियो ।

 
 
  
 

You may also like