आज देशभर गाईजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

by समतल अनलाइन

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि ८ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम गरी देशभर आरम्भ गरिँदैछ ।

एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । सोहि अनुरुप आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने चलन रहेको छ । साथै परिक्रमामा सहभागि श्रद्धालुद्वारा गाईलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन रहेको छ ।

प्रताप मल्लको पालादेखि सुरुभएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि सांस्कृतिक पर्वको रुपमा कायमै रहेको छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने गरिन्छ । काठमाडौं उपत्यकामा भने गाईजात्रालाई विशेष रौनकको रुपमा मनाइने गरिएको छ । यस अवसरमा काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा समेत दिइएको छ । पछिल्लो समय गाईजात्रा पर्वको ८ दिनको अवधीमा हस्य कलाकारहरुले सामाजिक विकृतिका विरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन समेत गर्दै आएका छन् ।

 
 
  
 

You may also like