जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, राष्ट्रपतिद्वारा अवलोकन

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । ललितपुरको जावलाखेलमा आइतबार भोटो देखाइएको हो । मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइएपछि भोटो देखाउने चलन छ । भोटो देखाउने जात्रा हेर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लगायत उच्च पदस्थहरू पुगेका थिए ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने गरिँदै आएको छ । अतिथिहरू जावलाखेल आइसकेपछि लाहा छाप लगाइएको रातो कपडाबाट भोटो झिकेर सबभन्दा पहिला रातो मच्छिन्द्रनाथलाई देखाइन्छ । त्यसपछि राष्ट्र–प्रमुख तथा सरकार–प्रमुखलाई देखाइन्छ, अनि रथ वरिपरि घुमेर चारै दिशामा पालैपालो प्रदर्शन गरिन्छ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो । यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ ।

गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा प्रारम्भ भएको थियो । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रामध्येको एक हो । जात्रा करिब एक हजार छ सय वर्षअघि सुरु भएको विश्वास गरिन्छ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्गमती पुर्‍याउनुपर्ने परम्परा रहको गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए ।

 
 
  
 

You may also like