आज कहाँ–कहाँ छ भारी बर्षाको सम्भावना ?

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मधेस प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर साधारणतया बदली रहने छ ।

सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

२४ घण्टामा कहाँ कति पानी पर्‍यो ?
पछिल्लो २४ घण्टामा दैलेख, सिन्धुपाल्चोक, दोलखामा भारी वर्षा भएको छ । दैलेखको कट्टीमा ९० मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकको बाहुनेपाटीमा ७३.४, गोबरेमा ५८.८, बाँसखर्कमा ६५.६ मिलिमिटर वर्षा भएको छ । उत्तरी गोरखाको बारपाकमा ५१ मिलिमिटर वर्षा भएको छ । दोलखाको सिँगटीमा ५२ मिलिमिटर वर्षा मापन भएको छ ।

 
 
  
 

You may also like