अग्रता जोगाउन नसक्दा नेपाल यमनसँग बराबरीमा रोकियो, किरणले जिते १००औं क्याप

काठमाडौं । इञ्जुरी समयमा अग्रता जोगाउन नसक्दा नेपाल फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा यमनसँग २–२ को बराबरीमा रोकिएको छ । मंगलबार राति साउदी अरेबियामा भएको खेलको इञ्जुरी समयअघिसम्म नेपालले २–१ को अग्रता बनाएको थियो ।

तर, इञ्जुरी समयमा गोल व्यहोरेपछि नेपाल छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा जित निकाल्नबाट चुकेको हो । खेलको नवौं मिनेटमा अल गहवासीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । तर, यमनको यो अग्रता लामो समय भने टिक्न पाएन । २२औं मिनेटमा सञ्जिव विष्टले यमनी रक्षकबाट भएको गल्तीको फाइदा उठाउँदै नेपाललाई १–१ को बराबरीमा फर्काए ।

६६ औं मिनेटमा जिलेस्पीजंग कार्कीले हेडर गोल गर्दै नेपाललाई २–१ को अग्रतामा राखेका थिए । नेपालले यो अग्रता निर्धारित ९० मिनेटको खेलसम्म कायम राखेका थियो । तर, इञ्जुरी समयमा अल दाहीले गोल गरेपछि यमन खेलमा फर्किएको हो ।
नेपालले छनोटको दोस्रो चरणमा गोल गरेको यो पहिलो पटक हो । यसअघि पाँच खेल खेल्दासम्म नेपाल गोलविहीन र अंकविहीन थियो ।

अन्तिम खेलमा बराबरीको नजिता निकाले पनि नेपालले छनोटको दोस्रो चरण अन्तिम स्थानमा रहँदै खेल टुंग्याएको छ । नेपालले दोस्रो चरणमा २० गोल व्यहोर्दा दुई गोल मात्र गर्न सफल भएको हो । यो खेलसँगै नेपालका कप्तान किरणकुमार लिम्बूले राष्ट्रिय टिमबाट १०० क्याप समेत जितेका थिए । सन् २००८ मा राष्ट्रिय टिमबाट ‘डेब्यू’ गरेका किरण त्यसयता टिममा निरन्तर छन् ।

 
 
  
 

You may also like