एक्यानमा बजेट छलफल ः उत्साहजनक छैन

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याएको बजेटमा कुनै प्रकारको उत्साह नभएको आर्थिक क्षेत्रका विज्ञहरुले बताएका छन् । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एकयान) रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको बजेट छलफलमा विज्ञहरुले प्रशासनिक खर्च धेरै र पुँजीगत खर्च कम रहेको र राजश्व संकलनको लक्ष्य बराबर प्रशासनिक खर्च भएकाले विकासका कार्यक्रमहरु प्रभावित हुने प्रतिक्रिया दिएका हुन ।

कार्यक्रममा बोल्दै एक्यान लुम्बिनी प्रदेश अध्यक्ष सिए छवि पोखरेलले भन्नुभयो–‘बजेट आउने नियमित प्रक्रिया हो, बजेट आयो भन्ने कुराले भन्दा पनि बजेटमा के कस्ता कुराहरु समावेश गरिएका छन्, त्यसको व्यवस्थापकीय पक्षलाई महत्वका साथ हेरिन्छ ।’ उहाँले अहिले सरकारले ल्याएको बजेट उत्साहजनक नभएको बताउनु भयो । बजेट कर असुली गर्नेमा बढी केन्द्रित रहेको बताउँदै उहाँले करको दायरा फराकिलो बनाउनु पर्नेमा त्यसतर्फ कुनै ध्यान नदिईएको बताउनु भयो ।

आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटको ठूलो हिस्सा प्रशासनिक खर्चमा छ । पुँजीगत खर्च ज्यादै न्यून छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नीजि क्षेत्रलाई चलायमान बनाउने कार्यक्रम नआएको बताउनु भयो । उहाँले राजश्व संकलन लक्ष्य हाराहारीको प्रशासनिक खर्च र बजेट भाषणमा उल्लेख भएर पनि कार्यान्वयन नहुने पुरानो चलन कै स्थापित मान्यताका कारण आएका कार्यक्रम कार्यान्वनमा शंका व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था बुटवलका संयोजक सिए शिवहरी शर्माले पनि बजेट त्यति आशा लाग्दो नभएको प्रतिक्रिया दिनुभयो । उहाँले राजश्व संकलनको अवस्थाले विकासको कामलाई प्रत्यक्ष प्रभाव पार्ने बजेट आएको बताउनु भयो ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ रुपन्देहीका अध्यक्ष सिए कमल ज्ञवालीले कर प्रणालीमा आएको परिवर्तन र त्यसले पार्ने प्रभावका बारेमा जानकारी गराउनको लागि कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भयो ।

कार्यक्रममा अडान रुपन्देहीका अध्यक्ष रामप्रसाद पौडेलले पनि बजेट खासै उत्साहजनक नभएको बताउनु भयो । रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले प्रशासनिक खर्च बढी भएको र राजश्व असुलीको अवस्था कमजोर हुँदा निनियोजित बजेटमा आशंका व्यक्त गर्नुभयो ।
कार्यक्रममा एक्यान रुपन्देहीका उपाध्यक्ष सिए महेश घिमिरे, सदस्य सिए अच्युत पाण्डे लगायतले बजेट सुन्दा राम्रै लागेपनि त्यसको गहिरो अध्ययनले उत्साहजनक नदेखिएको बताउनु भएको थियो । त्यस अवसरमा एक्यान रुपन्देहीका सचिव सगुण खनालले बजेटमा आएका नयाँ प्रावधान, त्यसका सवल तथा दुर्वल पक्षका बारेमा विश्लेषण गर्नुभएको थियो ।

 
 
  
 

You may also like