हरेक महिनाको १ गते सांझ लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट

बुटवल । लुम्बिनी केबलकारले प्रत्येक महिनाको १ गते संक्रान्तिको दिनमा टिकटमा ५० प्रतिशत छुट दिने भएको छ । हरेक संक्रान्तिको दिन केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा रहेको कामाख्या मन्दिरको प्राङ्गणमा साँझपख सञ्चालन हुने विशेष दिव्य महाआरतिको उपलक्ष्यमा ५० प्रतिशत छुट दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

छुट अनुसार साँझ ५ बजेपछि प्रति व्यक्ति टिकट दर ५ सय रुपैयां कायम हुने अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए । ५० प्रतिशत छुटको टिकट खरिद साँझ ५ बजे अगाडि विक्रि नगरिने कम्पनीले स्पष्ट पारेको छ ।
केबलकारको साधारण टिकट दर एक हजार रुपैयां हो । सोही अनुसार ५० प्रतिशत छुट गरिएको हो । सन्ध्या आरती सांझ ७ बजेसम्म चल्ने छ । आरतीसंगै नाचगान र धार्मिक प्रवचन समेत हुने कामाख्या मन्दिरका पुजारी सुरेश शर्माले बताए ।

कम्पनीले यसअघि पनि विभिन्न अवसरहरुमा सर्वसाधारणको चाहनालाई मध्यनजर गरी छुट अफरहरु ल्याउंंदै आएको छ ।
यद्यपि कम्पनीले अर्को निर्णय नहुंदासम्मका लागि टिकट दर ७५० रुपैयां कायम गरेको छ । गत वर्ष जेठ १५ गतेदेखि सञ्चालनमा आएको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । हाल नेपालमा सञ्चालित ६ वटा मध्ये लुम्बिनी केबलकार दोस्रो लामो केबलकार हो ।

बुटवल बमघाटमा रहेको तल्ले स्टेशनबाट १२ मिनेटमा केबलकारको टप स्टेशन बसन्तपुर पुगिन्छ । बसन्तपुरमा तराईमा भन्दा करिब १० डिग्री सेल्सियस तापक्रम कम हुने हुंदा गर्मी सिजनमा शितल महसुस हुने कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।

 
 
  
 

You may also like