काठमाडौं । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका अधिकांश भू–भागहरूमा भने हुस्सु लागेको अवस्था छ । तराई अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार बाक्लो हुस्सुका कारण हवाई सेवा प्रभावित भएको थियो । चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन विभागको आग्रह छ ।
आज (बिहीबार) दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राती कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।