काठमाडौं । तपश्वीको आवरणमा विभिन्न आश्रममा अपराध श्रृंखला मच्चाएका रामबहादुर बम्जनको घरबाट प्रहरीले हालसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ भेटाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँ मात्र होइन विदेशी मुद्रा पनि फेला परेको छ ।
‘बम्जनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो । तीन करोड ३० लाख ७५ हजार रहेछ । सबै हजार हजारको गड्डीहरू भेटिएको छ । अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ । डलर लगायत अरू पनि करेन्सी छन्,’ ब्युरो प्रमुख किरण ब्रजाचार्यले सुनाइन् । उनको साथबाट १५ वटा मोबाइल, तीन वटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ ।
सिआइबी प्रमुख ब्रजाचार्यका अनुसार बम्जनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन् । आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन् । प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए ।
प्रहरीले केहीसमय अघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो । बम्जनका विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए । उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र दुई चेला गरी चार जनालाई बेपत्ता पारेको, एक जनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन् ।
बम्जनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन् । बम्जनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन् । बम्जनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन् । आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ । आफूलाई हुँदै बम्जनले बलात्कार गरेको भन्दै गंगामायाले दिएको उजुरी पछि प्रहरीले सर्लाही जिल्ला अदालतमा मुद्दा लगेको छ । उक्त मुद्दा मा उनलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको थियो ।