लुम्बिनी एक्स्पोको दशौं दिन ; एक लाख बढी दर्शकले गरे अवलोकन,४ करोड बढीको कारोवार

by समतल अनलाइन

बुटवल।रुपन्देही व्यापार संघले बुटवल मण्डपमा सञ्चालन गरेको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको १० औं दिनमा अहिलेसम्मकै धेरै अवलोकनकर्ता सहभागी भएका छन् । बिदाको दिन र बुटवल क्षेत्रमा चिसो बढेकाले पनि अवलोकनकर्ताको घुइँचो लागेको आयोजकको भनाइ छ ।

पुस ५ गतेदेखि चलिरहेको एक्स्पोमा शनिबार अहिलेसम्मकै धेरै अवलोकनकर्ता पुगेको र कारोबार पनि त्यसै गरेर अहिलेसम्मकै धेरै भएको जनाइएको छ ।एक्स्पोका प्रचार संयोजक फर्सुराम पन्तका अनुसार शनिबार मात्रै एकलाख भन्दा बढीले अवलोकन गर्दा करिब ४ करोड बराबरको कारोबार भएको दावी गरे ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथसञ्चालन भइरहेको एक्स्पोमा बढेको भीडले आफूहरुलाई थप उत्साह बनाएको संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक कृष्ण घिमिरेले बताए ।

शनिबारको पूर्व तयारी गरेर टिकट काउण्टरको व्यवस्था, सुरक्षा व्यवस्था र बाहिर निस्कने अर्को गेटको व्यवस्था पहिले नै गरिएको उनले बताए । शनिबार बिहानै ९ बजेदेखि नै अवलोकनकर्ताहरु टिकट काउण्टरमा लाइनमा बसेर भित्र प्रवेश गर्न थालेका थिए । शनिबार दर्शकहरुको भिड बढेपछि आयोजक लाइन व्यवस्थापन गर्दै सहज रुपमा प्रदर्शनीस्थलमा खटिएका थिए भने स्टलधनी दिनभरी आफ्ना सामग्री बेच्न र प्रदर्शनीमा राखिएका वस्तुबारे जानकारी दिन खटिएका थिए ।

स्थायी प्रदर्शनी स्थल भएकाले पनि प्रदर्शनी केन्द्रमा अवलोकनकर्ता थपिँदा पनि धेरै समस्या नपरेको महासचिव दयानिधि भण्डारी बताउँछन् । उनले भिड अत्यधिक बढेपछि टिकट काउण्टर बढाएर सहजता बनाएको जनाए ।

मण्डपमा एकैपटक ५० हजार दर्शक रहन सक्ने क्षमता भएका कारण व्यवस्थापन सहज हुने गरेको छ । सुरक्षा व्यवस्था समितिका संयोजक अर्जुन भट्टराईले शनिबार दर्शकहरुलाई बाहिर निस्कनका लागि दुईवटा छुट्टै निकासको व्यवस्था गरिएको र भीड बढे पनि कुनै अप्रिय घटना नभएको जनाए ।

 
 
  
 

You may also like