गुल्मीको सत्यवतीमा चिच्याएर वर माग्ने मेला शुरु

by समतल अनलाइन

चिच्याएर वर माग्ने मेला गुल्मी ठूलो लुम्पेकको सत्यवती क्षेत्रमा हिजो देखि शुरु भएको छ । सयौं वर्ष देखि गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलो लुम्पेकको सत्यवती क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीबारदेखि शुरु मेला ६ दिन दिनसम्म चल्नेछ । भक्तजनको ठूलो सहभागिता हुन थालेपछि बिगत केही बर्ष देखि सत्यवती क्षेत्र बिकास तथा पर्यटन प्रबर्द्धन केन्द्र (साक्टेक नेपाल)ले सत्यवती मेलाको व्यबस्थापन गर्दै आएको छ। विगतमा १ मात्र लाग्ने मेला बिगत १५ बर्ष देखि एक हप्तासम्म सञ्चालन गर्न लागिएको सत्यवती क्षेत्र बिकास तथा पर्यटन प्रबर्द्धन केन्द्र (साक्टेक नेपाल)का पारस राहादी मगरले बताउनु भएको छ। वहाँका अनुसार करिब एक शताब्दीको इतिहास बोकेको ९० औं बर्षमा लाग्ने यस सत्यवती मेला करिब डेढ देखि २ लाख बढी भक्तजन मेलामा सहभागी हुने अनुमान गरिएको छ

मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, सालआदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूँजा गरेपछि वर मागेर फर्कने परम्परा चल्दै आएको छ । मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर मागे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । धार्मिक पर्यटकीयस्थल सत्यवती क्षेत्रलाई नेपाल सरकराले नेपालको सय पर्यटकिय गन्तब्य स्थल भित्र सुचिकृत गरेको छ। सत्यवती बजै नसुन्ने भएकोले मनले चाहेको कुरा चिच्याएर वर मागेमा मनोकांक्षा पुरा हुने बिश्वासको आधारमा वर माग्न देश बिदेशबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गर्दछ। यहाँ बाँसको लिगो लिएर आवाज निकाल्ने गरी चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ ।
यस पटक मेलाको सुरक्षित रुपमा व्यबस्थित बनाउन साक्टेक नेपालले स्थानीय प्रगतीशिल समाज क्वाङ्गसंग समन्वय र सहकार्य गरिरहेको छ। प्रगतीशिल समाजले वडास्तरिय भलिवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको संयोजन गरेको छ ।

मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ । किवदन्ती अनुसार सत्यवती बज्यैसँग वर माग्नेक्रममा कुण्ड कत्तिको गहिरो छ भनि आफुले लिएको निगलाको लिँगो कुण्डमा गाडेर नाप्न खोज्दा कुण्डको पानीमा पुरै रगत देखिए पछि के भएछ भनि हेर्दा सत्यवती बजैको कानमा लिँगो गडेकाले त्यसै समय देखि सत्यवती बजै बहिरा भएको भनाई छ। यसैगरी सत्यवती बजैका पुजारी क्षेत्र बहादुर तरामुका अनुसार जंगलमा गोठला गएको बेला एक बुढी बजै देखा परेको र ती बजैले मसंग च्चियाएर वर मागेमा तेरो मनोकांक्षा पुरा गरिदिने छु भनि भनेपछि उक्त गोठलाले आफ्नो मनोकाङ्क्षा मागेको र बज्यैले आफु जंगलमा प्रकट भई वर मागेको कुरा गाउमा कसैलाई नसुनाए फल प्राप्त हुने यदि सुनाए उतेरोको मृत्यु हुने वचन दिएकोमा उक्त गोठलाले घर फर्किए लगत्तै सुनाउदा उनको मृत्यु भएका कथन अनुसार आफुले मागेको वर कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको पौराणिक कथन छ ।

नेपालका विभिन्न जिल्ला अर्घाखाँची, पाल्पा, स्याङ्गजा, बागलुङ्ग, प्युठान, पर्वत लगायत भारतको सुनौली, नौतुना, गोरखपुर लगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने सत्यवती गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष जित बहादुर तरामुले जानकारी दिनु भएको छ। गत बर्ष देखि उक्त सत्यवती क्षेत्रमा चिया खेतीको समेत परिक्षणका लागि ५ हजार चियाका बिरुवा रोपण गरिएको छ।

सत्यवती क्षेत्रलाई यातायातको सडक सञ्जालसंग समेत जोडिएको छ। बुटवल देखि सिधै ठूलो लुम्पेकसम्म मोटर बाटो पुगेको छ भने लुम्पेक बजार देखि हल्का सवारी साधनहरु मोटर साइकल, जिप तथा बोलेरो गाडीको समेत प्रयोग गरेर सत्यवती क्षेत्र पुग्न सकिन्छ भने पैदलयात्रा गरेर पनि सत्यवती जानका लागि ढुङ्गै ढुङ्गाको पैदल बाटो समेत बनाइएको वडा अध्यक्ष तरामुले जानकारी दिनु भएको छ।

 
 
  
 

You may also like