काठमाडौं । गएराती आएको भुकम्प पछि जाजरकोटमा चार भन्दा बढीका तीन भूकम्प आएका छन् । गएराती ११: ४७ बजे आएको ६.४ रेक्टर स्केलको भूकम्पपछि तीन वटा ४ भन्दा ठुला भूकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
जस अनुसार राति १२ बजेर ८ मिनेटमा ४.५ रेक्टर स्केलको, १२ बजेर २९ मिनेटमा ४.२ रेक्टर स्केलको र १२ बजेर ३५ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यी भूकम्प पहिलो भूकम्पका पराकम्प भएको केन्द्रले जनाएको छ ।
गएरातीको भूकम्पमा परि जाजरकोट र रुकुममा ५० भन्दा बढीको मृत्यु भएको प्रारम्भिक विवरणले देखाएको छ । प्रहरीले राति भएका कारण राहत उद्धार र विवरण संकलन गर्न मुश्किल भएको जनाएको छ । मृत्यु हुनेको संख्या धेरै हुन सक्ने आशंका गरिएको छ ।
भूकम्पका घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएको सरकारले जानकारी दिएको छ । घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भैरहेको हेलो सरकारमार्फत जानकारी दिइएको छ ।
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको उल्लेख गर्दै घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका र उद्धार एवं राहतमा जुट्न सबैमा अपील गरेका छन् ।