दिदी बहिनी महिला साकोसको ९ औं बार्षिक साधारण सभा सम्पन्न

by समतल अनलाइन

कञ्चन । दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कञ्चन ४ रुपन्देहीको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले संस्थाका अध्यक्ष सुमित्रा बुढाथोकीद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन अनुमोदन गरेको छ।

साधारण सभालाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापाले ग्रामिण क्षेत्रका महिलाहरुको सामाजिक, आर्थिक, ब्यबसायिक रुपमा सशक्तीकरण गर्दै उद्यमशिलतातर्फ उन्मुख बनाउन प्रेरित दिदी बहिनी महिला साकोसले महिला दिदी बहिनीहरुको आत्मनिर्भर र स्वरोजगारउन्मुख बनाउनतर्फ योजना निर्माण गर्नु पर्ने बताउनु भयो। महिलाहरुको सशक्तीकरणमा महत्वपुर्ण योगदान दिदै आइरहेको सुनगाभा सामुदायिक बिकास केन्द्रको सहयोग र समन्वयमा बिभिन्न समूह गठन गरी सामुहिक बचतको बिकास गराउनु सामान्य बिषय नभएको र महिलाहरुलाई कञ्चनको बिकासको साझेदार गराउन उनिहरुमा उद्यमशिलतातर्फ आकर्षित गर्नु पर्नेमा उपाध्यक्ष थापा मगरले जोड दिनु भयो।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटा र वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले महिलाहरुको सशक्तिकरण बिना समाज रुपान्तरणको कल्पना गर्न नसकिनेमा जोड दिनु भयो। महिला शैक्षिक, आर्थिक, सामाजिक रुपमा सवल बनाउन सकेमात्र त्यो घर र समाजको समेत बिकास हुने द्वय वडा अध्यक्षहरुे बताउनु भयो।

यसैगरी कार्यक्रममा ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाही, कार्यपालिका सदस्य सुशिला थापा, सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक गोपाल बहादुर के.सी., धरोहर बचत तथा ऋण सहकारी संस्थाका सचिव कविराज ढकाल, कञ्चन महिला उद्यमी कृषि सहकारी संस्थाका अध्यक्ष हिमा बेलवासे लगायतले शुभकामना सहित समुन्नत समाज निर्माण र दिगो आर्थिक बिकासका लागि दिदी बहिनी महिला साकोसको भुमिकालाई अझ ब्यबस्थित र फराकिलो बनाउदै जानु पर्नेमा वक्ताहरुले जोड दिएका थिए।

संस्थाका अध्यक्ष सुमित्रा बुढाथोकीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सुनगाभा सामुदायिक बिकास केन्द्र संचालित मानव बेच विखन बिरुद्ध परियोजनाद्वारा गठित समूहहरुमा आवद्ध गराई महिला तथा किशोर किशोरीहरुको समूहगत पुँजीलाई नै सहकारीको रुपम दिइएको बताउनु भयो। सहकारी मार्फत समुदायका समूहमा आवद्ध आर्थिक अवस्था कमजोर भएका, हिंसामा परेका महिला तथा किशोर किशोरीहरुको हक अधिकारका लागि आवाज उठाउन, बचतको महत्व बुझाई आर्थिक रुपमा सवल बनाई ब्यक्तीगत र संस्थागत रुपमा क्षमता बिकास गर्दै सशक्तीकरणमा जोड दिदै आएको अध्यक्ष बुढाथोकीले बताउनु भयो।

संस्थाका अध्यक्ष सुमित्रा बुढाथोकीको अध्यक्षता, सुशिला क्षेत्रीको स्वागत तथा उपाध्यक्ष कमला बि.क.को संचालनमा साधारण सभा सम्पन्न भएको हो। सभा सुनगाभा सामुदायिक बिकास केन्द्रको कार्यलय परिसरमा भएको थियो। सभामा आमन्त्रित अतिथिहरुलाई संस्थाका शेयर सदस्य तथा संचालक समितिका उपाध्ययक्ष कमला बि.क.द्वारा उत्पादित अचारलाई मायाको चिनोको रुपमा उपहार दिइएको थियो। स्थानीय उत्पादनको बजारीकरण तथा प्रबद्र्धनमा सहायकसिद्ध बनाउन मायाको चिनोको रुपमा अचार उपहार दिइएको अध्यक्ष सुमित्रा बुढाथोकीले बताउनु भयो।

उक्त सहकारीमा कञ्चनका ४९८ महिलाहरु शेयर सदस्यको रुपमा रहेका छन भने गत आ.व.मा ३ लाख ७१ हजार ३६५ रुपैया खुद नाफा गरेको थियो। बार्षिक साधारण सभामा संस्थाका माया भुजेल र गंगा रसाइलीलाई असल ऋणीको रुपमा संस्थाले सम्मान समेत गरेको थियो।

 
 
  
 

You may also like