काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदै आएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् ।
‘नेपालका बौद्ध तीर्थस्थलहरु’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजीनामा गर्ने बताए । ‘पटक पटकको घेराबन्दी तोड्नु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व विगतमा युद्ध लड्नका लागि मात्र हैन अहिले मुलुकका लागि समृद्धि हासिल गर्न पनि त्यतिकै आवश्यक छ’, उनले थपे ।
पुस्तकका लेखक तथा सम्पादक गेशे थुब्तेन शेराब हुन् । बुद्धसँग सम्बन्धित तीर्थस्थलहरु, बोधिसत्वसँग सम्बन्धित तीर्थस्थलहरु र बज्रयान सम्बन्धित तीर्थस्थलहरु गरी तीन खण्डमा विभाजित उक्त पुस्तक अनुसन्धान केन्द्र, लुम्बिनी बौद्ध विश्वविद्यालय, पर्सा र नेपाल बौद्ध महायान केन्द्र गुम्बा, कपनले प्रकाशन गरेको हो ।
नेपाली तथा तिब्बती भाषामा निकालिएका दुबै प्रति पुस्तकको थेरवाद, महायान र बज्रयानका धर्मगुरुहरुको उपस्थितिमा लोकार्पण गरिएको हो । गुरु लोसाङ नाम्ग्याल रिम्पोछेको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रो. सुमन्तराज न्यौपाने तथा इन्टरनेशनल बुद्धिष्ट एकेडेमीका खेन्पो डा. ङवाङ ज्योरदेनले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।