बहराइनमाथि नेपालको शानदार जित

by समतल अनलाइन

काठमाडौँ । बहराईनलाई १० विकेटले पराजित गर्दै आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनमाथि १० विकेटको शानदार जित निकालेको हो । बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा भेट्टायो । नेपालका लागि ओपनर सीता राना मगर र काजल कुवँरले ३२ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको हो । कविता १७ र सीता २ रनमा नटआउट रहे ।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराईन १५.४ ओभरमा ३१ रनमा समेटियो । बहराइनलाई कम स्कोरका रोक्न इन्दु बर्मा एक्लैले तिन विकेट झारिन्। घातक बलिङ गरेकी इन्दुले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिदाँ २ ओभर मेडन राखिन् । खुसी डंगोलले दुई विकेट लिईन्। कविता कुवँर, पुजा महतो, रुविना क्षत्री बेलवासेले समान एक विकेट आफ्नो नाममा गरे ।

कप्तान दिपीका रासंगिकाले बनाएको ११ रन नै बहराइनका लागि सर्वाधिक रह्यो । दिपीका इन्दु बर्माको बलमा बोल्ड आउट भइन् । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । ओपनर एच जी थरंगा ४ रनमा कविता कुवँरको बलमा बोल्ड आउट भइन् । रसिका रत्नमाली र प्रज्ञा जगदिशा गोल्डेन डगआउट भए । अविरा वारिस शुन्य र इशारा मधुवन्थी ५ रनमा रनआउट भए। पवित्र सेट्टी १ रनमा क्याच आउट भइन् ।

समूह ‘ए’ मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । समुह चरणको तेस्रो खेलमा आइतबार भुटानसँग खेल्ने छ । सोमबार कतार र समुह चरणको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्ने तालिका छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल खेल भदौ २२ गते शुक्रबार हुनेछ। फाइनल खेल २३ गते शनिबार हुनेछ । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्ने छ ।

 
 
  
 

You may also like