जिउमा आफै मटीतेल छर्केर आगो लगाउँदा महिलाको मृत्यु

by समतल अनलाइन

दार्चुला । दार्चुलामा मटीतेल छर्केर एक महिलाले आत्मदाह गरेकी छन् । शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउदले आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान घरमा कोही नभएका बेला उनले आफ्नै शरीरमा मटीतेल छर्केर आगो लगाएकी थिइन् । घाइते साउदलाई स्थानीयले उद्धार गरेर उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याएका थिए । गोकुलेश्वरमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बेलुका मृत्यु भएको हो ।

थप उपचारका लैजाँदा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् । उनका अनुसार शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको छ । साउदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको छ ।

साउदले शरीरमा आगो लगाउनुको कारण खुलेको छैन । मृतकको घरमा श्रीमान्, छोरा–बुहारी र नातिनातिना छन् । स्थानीयका अनुसार आत्मदाह गरेकी महिला सुस्त मनस्थितिकी थिइन् । आइतबार बिहान सुनाले श्रीमान्लाई टाउको दुखेको सुनाइन् । श्रीमान् औषधि लिन प्राथमिक स्वास्थ्य केन्द्र गएका थिए ।

त्यसै बेला उनले मट्टितेल छर्केर आत्मदाह गरेकी हुन् । जलेपछि छटपटिएर चिच्याउँदै घरबाट दुई-तीन सय मिटर भागेको शैल्यशिखर नगरपालिका–५ का अध्यक्ष जनकसिंह डागाले बताए । छिमेकी गाउँलेहरुले देखेपछि आगो निभाएर उपचारका लागि अस्पताल ल्याए पनि बचाउन नसकिएको उनले बताए ।

 
 
  
 

You may also like