बुटवल नगर खेलकुद विकास समितिको संयोजकमा पिया मनोनित

बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा वोनिन पिया मनोनित हुनुभएको छ।
नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ बमोजिम बुटवल ८ निवासी पियालाई नगर प्रमुख खेलराज पाण्डेयले संयोजकमा मनोनित गर्नुभएको हो।

विगतमा सितारियो कराँते, तेक्वान्दो, फुटबल र ब्याडमिन्टनजस्ता खेल प्रतियोगितामा क्रियाशील पियालाई खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्दै नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदका क्षेत्रमा अग्रणी नगर बनाउने जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो।

उहाँले बुटवलबाट खेलाडी उत्पादन गर्नका लागि चालु आर्थिक वर्षमा नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने र आगामी दिनमा अरु खेलकुदका प्रतियोगिताहरु सञ्चालन गरी खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो।

संयोजकमा मनोनित भएपछि संयोजक पियाले बुटवललाई खेल क्षेत्रमा अग्रणी नगर बनाउनका लागि यहाँका खेलाडी, प्रशिक्षक, क्लब र संघसंस्थाहरुलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभयो।

उहाँले बुटवलका खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नका लागि योग्य बनाउन क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।

‘खेलाडी उत्पादनका लागि विद्यालय र कलेजस्तरबाटै लगानी गर्नुपर्ने, तालिम दिनुपर्ने र नियमित लागिरहन प्रोत्साहन गर्नुपर्ने देखिन्छ-उहाँले भन्नुभयो-यसलाई कुन तहबाट कसरी अगाडि बढाउँदा लाभदायी हुन्छ त्यसअनुसार सबै क्षेत्रको परामर्शका आधारमा कार्यक्रम सञ्चालन गर्नेछौं।’

 
 
  
 

You may also like