पुटिनले टर्की भ्रमण गर्नेमा एर्दोगान आशावादी : खाद्यान्न सम्झौतालगायत समसामयिक बिषयमा वार्ता हुने

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युक्रेनलाई ‘ब्ल्याक सी’ हुँदै आफ्नो खाद्यान्न निर्यात गर्न दिने सम्झौता पुनः स्थापित गर्न अङ्काराले मध्यस्थता गरिरहेका बेला रूसी नेता भ्लादिमिर पुटिनले अगस्टमा टर्कीको भ्रमण गर्ने आशा व्यक्त गरेका छन ।

इस्तानबुलको मस्जिदमा जुमेको नमाजपछि एर्दोगानले सञ्चारकर्मीसँग भने, ‘अहिलेसम्म कुनै निश्चित मिति तय भएको छैन तर मेरा विदेशमन्त्री र गुप्तचर प्रमुखबीच वार्ता भइरहेको छ ।’ उनले भने, ‘मलाई विश्वास छ कि यो भ्रमण अगस्टमा हुनेछ ।’ ‘ब्ल्याक सी’ हुँदै युक्रेनी खाद्यान्न ढुवानीको सुरक्षित मार्गको लागि अनुमति दिने हालै अन्त्य भएको सम्झौतामा टर्की एक प्रमुख खेलाडी थियो । सन् २०२२ को जुलाईमा अङ्कारा र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको यो सम्झौता मस्कोले नवीकरण गर्न अस्वीकार गरेपछि गत महिना समाप्त भएको थियो ।

मस्कोले युक्रेनबाट खाद्यान्न ढुवानीका लागि अत्यावश्यक सुविधाहरूमा आक्रमण गरेपछि एर्दोगानले बुधबार पुटिनलाई फोन गरेर तनाव नबढाउन आग्रह गरेका थिए । शुक्रबार एर्दोगानले कम विकसित अफ्रिकी मुलुकहरूमा खाद्यान्न निर्यात गर्नुपर्ने आवश्यकताबारे रूससँग आफ्नो अडान राखेको बताएका थिए । उनले भने, ‘हामी ‘ब्ल्याक सी’ हुँदै आएको अन्नलाई पिठोको रूपमा गरीब, कम विकसित अफ्रिकी देशहरूमा पुर्‍याउनेछौं ।’

गत महिना एर्दोगानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा पुटिनले टर्कीको भ्रमण गर्ने घोषणा गरेका थिए । नेटो सदस्य राष्ट्र टर्कीले युद्धका क्रममा रूस र युक्रेन दुवैसँग मैत्रीपूर्ण सम्बन्ध राख्न सफल छ । अङ्काराले रूसमाथि पश्चिमा मुलुकले लगाएको प्रतिबन्धमा सहमति जनाएको छैन । साथै, युक्रेनलाई हतियार पनि आपूर्ति गरेको छ ।

 
 
  
 

You may also like