दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापनबारे चालकहरुलाई प्रशिक्षण

बुटवल। सवारी दुर्घटनाबाट हुने मानविय तथा अन्य भौतिक क्षतिलाई कम गर्न सकिने उपायहरु पत्ता लगाई ब्यबहारमा लागु गर्न यातायात मजदुरहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले प्रशिक्षण संचालन गरिएको छ । तालिममा सिकाइएका कुराहरु ब्यबहारमा लागु भए नभएको अनुगमन गर्न बिशेष समिति निर्माण गरिने र स्थलगत अनुगमनले नियम उल्लंघन गर्ने चालकहरुलाई कारबाही समेत गरिने पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ ।

प्रालिका अनुसार नेपालका सडकहरुमा भैरहने बढ्दो सवारी दुर्घटनाको न्यूनिकरण र यसबाट हुने मानविय क्षतिलाई कमगर्ने उद्धेश्यले बुटवलमा यातायात मजदुरहरुलाई तालिम संचालन गरिएको हो । नेपालमा दिन प्रतिदिन सवारी साधनको संख्या र दुर्घटना बढ्दै गएकोले पश्चिम नेपाल बस व्यवसायी प्रा.लि बुटवलले बिगतमा संचालन गरेको आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण प्रशिक्षण कार्यक्रम पुनः शुरु गरेको बताइएको छ ।

दुर्घटना न्यूनिकरणका लागि चालक तथा परिचालकहरुलाई अनुशासित र मर्यादित बनाई धनजनको क्षति रोक्न सकिन्छ भन्ने हेतुले तालिमको आयोजना शुरु गरेको आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण प्रशिक्षण कार्यक्रमका संयोजक नारायण घिमिरेले बताए । चालक तथा मजदुरहरुलाई पेशाप्रति सचेत र जिम्मेबार बनाउने तथा यातायात क्षेत्रलाई मर्यादित र अनुशासित बनाई समाजमा सुरक्षित यात्रा सेवा प्रदान गर्न यो तालिम कोशेढंगा सावित हुने घिमिरेको भनाई छ ।

यसप्रकारको तालिम निरन्तर रुपमा संचालन गरिने बताउदै संयोजक घिमिरेले समय समयमा फिल्डमा पुगेर समेत अनुगमन गरिने र तालिममा सिकाइएका कुराहरु कार्यान्वयन नभएमा तत्काल कारवाहि समेत गरिने बताए । त्यसका लागि चालक तथा परिचालक अनुशासित मर्यादित बन्ने सवारी चालक अनुमति पत्र, विलबुक, सवारीको यान्त्रिक अवस्था, यात्रुप्रति गरिने व्यवहारआदीको समेत चेक जाँच हुने संयोजक घिमिरेले प्रष्ट पारेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक अमृत भण्डारीले सडकमा मुख्यतयाः ४ कारणबाट सवारी दुर्घटना हुने बताए ।
भण्डारीले लुम्बिनी प्रदेशको गत आर्थिक वर्षको सवारी दुर्घटनालाई विशलेषण गर्दा सवारी दुर्घटना ११ सय ६४ भएका थिए । जस्मा चालकको लापवाहीबाट ९ सय ५९ वटा दुर्घटना भएको जनाइएको छ । जस्मा मानिहरुको मृत्यूदर ५ सय ५१ र दुर्घटनामा कुल १७ सय २० जना घाईते भएको भण्डारीले जनाएका छन । प्रहरी निरिक्ष भण्डारीका अनुसार १ सय ३० वटा बस र माइक्रो दुर्घटना भएको जुन ८.११ प्रतिशत रहेको बताए । यस्तै बुटवल क्षेत्रमा भएका विभिन्न ६१ वटा दुर्घटनामा ५ जना मानिसको मृत्यू, ११ जना गम्भिर घाइते भएका थिए भने यस क्षेत्रमा ट्राफिक नियम उलंघन गर्ने ५ सय ९४ वटा सवारीलाई जरिवाना समेत गरेको जानकारी समेत गराएका छन ।
पश्चिम नेपाल बस व्यवासायीका प्रवन्ध संचालक रामचन्द्र भुसालले प्रत्येक वर्ष सवारी दुघटनामा करोडौं रकम खचिनु परेको बताउदै यसलाई केहि हदसम्म यस्ता तालिमहरुले कमगर्ने बताउदै कुशुल र दक्ष चालकको नेपालमा कमी रहेको बताए । सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउदासम्म यातयात व्यवसायी र यातायात क्षेत्रको विकास हुन नसक्ने बताए । बजार मुल्य र तेलको मुल्य आकासिदै जानु बैज्ञानिक भाडादर कायम नहुनु आदी कारणले गर्दा व्यवसायी पलायन हुन वाध्य भएको बताए ।

नेपाल यातयात स्वतन्त्र मजदुर संगठनका कृष्ण कडेलले पेशालाई मर्यादित बनाउनका लागि चालक, परिचालक र हेल्परले आफुहरुलाई अनुशासित बनाउनु पर्ने बताए । कार्यक्रममा सह–संयोजक जितेन्द्र खत्री, प्रालिका संचालकहरु मोहन पिएस, चेतनारायण बेल्वासे, मोहन केसीलगाएतले बोल्दै सवारी दुर्घटना र यस्ले निम्ताउने जोखिमबाट बच्नका लागि चालक र परिचालकहरुले अपनाउन सकिने सुरक्षात्क उपायहरु र सवारी दुर्घटना कमगर्ने उपायहरुबारे चर्चा गरेका थिए । कार्यक्रममा लामो तथा छोटो दुरीमा सवारीसाधन चलाउने चालक परिचालक गरि करिब १ सय जनाको उपस्थित रहेको थियो । पश्चिम नेपाल बस ब्यबसायी प्रालिले २०६६ सालदेखि दुर्घटना न्यूनिकरण तालिम संचालन गर्दै आएको छ ।

 
 
  
 

You may also like