बुटवलको नयाँ बसपार्कमा निःशुल्क वाइफाई इन्टरनेट

बुटवल । बुटवलको नयाँ बसपार्कमा निशुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा निशुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।

मंगलबार निशुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियानअन्तरगत निशुल्क वाइफाइ इन्टरनेट जडान गरेको बताउनुभयो । उहाँले बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका रुपमा सञ्चालन हुने गरी अन्य सुविधाहरु समेत थप गर्दै जाने बताउनुभयो ।

‘हामीले अहिले शौचालय र स्नानलाई निशुल्क बनाएका छौं, खानेपानी र वाइफाइ इन्टरनेट निशुल्क भएको छ, उहाँले भन्नुभयो–छिटै नै विश्रामस्थलहरु बनाएर यहाँ उच्च क्षमताका लाइटहरु जडान गर्ने कामको शुरुवात हुनेछ, यसले बसपार्कलाई सुरक्षित र सुविधासम्पन्न बनाउनेछ, जसले बस चढ्न र ओर्लिन आउनेहरु विश्राम गर्न अन्यत्र जानपर्ने बाध्यता हट्नेछ ।’

उहाँले बसपार्कभित्रका धेरै समस्याहरु समाधान गर्दै सफा र सुरक्षित बनाउने काम उपमहानगरपालिकाले निरन्तर गरिरहेको बताउँदै बस टर्मिनलको भवनमा छिटै नै स्तरीय क्यान्टिन सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।

‘हामीकहाँ विमानस्थलहरु सुविधासम्पन्न हुन्छन्, तर बसपार्कहरु चोरीडकैती गर्ने ठाउँजस्ता भएका छन्, उहाँले भन्नुभयो–बसपार्कलाई पनि सुविधासम्पन्न बनाउने र सुरक्षित बनाउने काममा हामी लागेका छौं, त्यसका लागि यातायात व्यवसायी, मजदुर, व्यवसायी र स्थानीयको साथ आवश्यक रहन्छ ।’
उहाँले बसपार्क क्षेत्रलाई अरु विस्तार गर्दै बहुतले पार्किङ स्थल र उच्च क्षमताका लाइटहरु राख्ने तयारीमा रहेको बताउनुभयो ।

वल्र्डलिंक कम्युनिकेशनका क्षेत्रीय प्रबन्धक आनन्द झाले निशुल्क वाइफाइ इन्टरनेट जडान गर्न बुटवल उपमहानगरपालिकाले गरेको अगुवाईप्रति खुशी व्यक्त गर्नुभयो ।
‘बसपार्कभित्र लगइन गरेपछि मोबाइल एसएमएस प्राप्त भएपछि आउने कोड हालेपछि नब्बे मिनेटसम्म इन्टरनेट चलाउन सकिन्छ, उहाँले भन्नुभयो–मोबाइलको सेटिङ र सुरक्षाका कारण लगइन गर्दा केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, त्यसको सबै तरिका बसपार्कमा राखिने सूचनाबोर्डमा उल्लेख हुनेछन् ।’

 
 
  
 

You may also like