लुम्बिनी प्रादेशिक अस्पतालले मनायो ११३ औँ बार्षिक उत्सव

by समतल अनलाइन

बुटवल ।लुम्बिनी प्रदेशका स्वाथ्यमन्त्री विष्णु पन्थीले अस्पतालहरुले बिरामीलाइ भरोसा दिलाउन सक्नेगरि उपचार गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १३ औ बार्षिक उत्सवको मूल समारोहमा बोल्दै स्वास्थ्यमन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्वपूर्ण अस्पताललाई विशिष्टकृत अस्पताल बनाउनुपर्ने बताउनुभयो ।

सरकारले अगाडी बढाएको लुम्बिनी प्रदेशकै गौरवको योजानको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना विशिष्टकृत अस्पताल बनाउने उहाँको भनाइ छ । गुरुयोजना अनुसार नै अस्पतालको स्तरोन्नती हुने जानकारी दिदै १० तले आधुनिक भवन निर्माणको लागि रोकीएको ठेक्का प्रक्रिया अविलम्ब सुरुवात गर्ने समेत आश्वासन दिनुभयो ।

आर्थिक राजधानीको लागि अस्पताल कोसेढुङ्गा भएको भन्दै विपतमा तुरुन्त उपचार पाइन्छ, बाँच्न सकिन्छ भन्ने भरोसा दिलाउन सक्ने गरी अस्पताल विकास हुनुपर्ने धारणा राख्नुभयो । उहाले भन्नुभयो–‘ यहाँ रिफर नै गर्न नपर्ने गरि उपचार सेवा हुनुपर्छ, सामान्यतया बाहिर पठाउन नपर्ने गरि बिकास गर्ने योजना हो, बिगतमा १३ अर्बको योजना थियो ,देशको राजनीतिक परिवर्तनले प्रभाव पार्यो।’

उहाँले भन्नुभयो– ‘डाक्टर, नर्स,सरसफाइकर्मीसम्मले लय मिलाएर काम गरौं,बिरामीमा घरको रिस नपोखौं, सिमित साधनस्रोतको उच्चतम प्रयोग गरौँ ।’उहाँले अस्पतालको सन्दर्भमा निजि क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । ‘यहाँ मेडिकल टुरिजम बनाउन सकिन्छ ,खुलेर लगानी गर्नुस् सरकारले मात्रै लगानी गरेर हुदैन । ’ उहाँको भनाइ छ ।

पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले अप्ठ्यारो अवस्थामा अस्पतालले स्वास्थ्य संकटमा ठूलो योगदान दिएको बताउँनुभयो ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले कोभिड कालमा अस्पतालले दिएको सुविधा प्रसंशायोग्य रहेको भन्दै एमडी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा सहयोग रहने बताउनुभयो ।

उहाँले सेवा प्रदायक संस्थामा बुटवल उपमहानगरपालिका सहयोगी निकायको रुपमा रहेने बताउँदै यसमा सहकार्य गर्नका लागि आग्रह गर्नुभयो । कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानहरी मरासिनीले विरामीको चाँप अनुसार अस्पतालको भौतिक पुर्वाधार अभाव रहेको बताउनुभयो ।

उहाँले निर्माण गर्ने भनिएको १० तले भवन छिटोभन्दा छिटो निर्माण प्रकृया अगाडि बढाउनको लागि प्रदेश सरकारसंग माग समेत गर्नुभयो । कार्यक्रममा पूर्व अध्यक्षहरुबाट बाबुराम भट्टराई ,नेकपा माओबादी केन्द्रका रुपन्देही इन्चार्ज निर्मल जिसी, पूर्व मेडिकल सुपरिटेन्टेन्ट डा. राजेन्द्र खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का लगायतले अस्पतामा राजनीति गर्न नहुने बताउनुभयो ।

सो कार्यक्रममा सेवा निवृत्त कर्मचारी विश्वनाथ गौतम, कृष्णप्रसाद सापकोटा, युग कुमारी खनाललाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न प्रतियोगितामा उत्कृष्ट बनेका कर्मचारीहरुलाइ सम्मान समेत गरिएको थियो ।

 

 
 
  
 

You may also like