महायज्ञमा एउटै परिवारवाट ३० लाख सहयोग

by समतल अनलाइन

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङ्कोट स्थीत ज्ञानज्योति आधारभूत विद्यालयले सञ्चालन गरेको ज्ञान महायज्ञमा एउटै परिवारले तीस लाख रुपैंया सहयोग गरेको छ । अर्लाङ्कोट निवासी बलीभद्र सापकोटाको परिवारले विद्यालयलयको लागि महायज्ञको अवशरमा उक्त रकम सहयोग गरेका हुन । उक्त रकम महायज्ञ सञ्चालन भएको दोश्रो दिनसम्मको सबै भन्दा ठूलो राशीको सहयोग रहेको मुल समारोह समिति सचिबालय सदस्य रामकृष्ण कँडेलले बताएका छन ।
त्यसैगरि अर्लाङ्कोटकै स्वर्गीय दुल्लप सापकोटाका छोरानातीहरु खर्याना साहूका बाह्रभाई परिवारले २० लाख २१ हजार एक सय ५१ रुपैंया सहयोग गरेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्य सहित रजत जयन्ती महोत्सव एवं धनधान्याचल ज्ञान महायज्ञमा यतिबेला सहयोगी मनहरुको लहर बढ्दै जान थालेको छ ।
विद्यालयको रजत महोत्सवको अवशर पारेर सञ्चालन गरिएको धनधान्यान्चल महायज्ञको दोश्रो दिनसम्म आई पुग्दा डेढ करोड दान रकम संकलन भैसकेको छ । स्वदेश तथा विदेशमा रहेका विभिन्न मनकारी व्यक्तिहरुवाट स्वतस्र्फुुत रुपमा उक्त रकम संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् मूल समारोह समिति संयोजक यदुलाल सापकोटाले बताए ।
मुसिकोट नगरपालिका–९ अर्लाङ्कोट पाँणथोकमा विद्यालय स्थापनाको २५ औँ वर्ष पुरा गरेको अवसरमा विद्यालयले धनधान्याचल ज्ञान महायज्ञको आयोजना गरेको हो । महायज्ञको १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज र १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले मंगलबार शुभारम्भ गरेका हुन । विद्यालयले एकातिर विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने र अर्को माध्यमिक तहसम्म अध्ययनका लागि तीन करोड भन्दा बढी रकम संकलन गर्ने लक्ष्यका साथ धनधान्यान्चल ज्ञान महायज्ञको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले बताए ।

कार्यक्रममा दैनिक रुपमा पुजा पाठ, कथा प्रवचन, भजन कृतन लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको छ । फाल्गुण १६ गतेसम्म सञ्चालन हुने रजत महोत्सव एवम् धनधान्याचल महायज्ञमा अर्लाङ्कोटमा जन्मभई रोजगारी र व्यवसायको क्रममा स्वदेश तथा विदेशमा रहेका व्यक्ति, स्थानीय जनप्रतिनिधि विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा श्रद्धालुहरुको सहभागिता रहेको समितिका उप संयोजक प्रेम सापकोटाले बताएका छन ।
विद्यालयले राखेको उद्धेश्य पुरा गर्न विभिन्न व्यक्तिहरुले स्वतस्फुर्त रुपमा सहयोग गर्न थालेका छन । विद्यालयलाई सहयोग गर्न मन भएका तर हातमा धन नभएकाहरुले पनि आफ्नो घरमा भएको अन्न दान गरेर सहयोग गर्न थालेका छन । धनधान्याचल महायज्ञमा चन्दादाताहरुले मन फुकाएर गरेको सहयोगले सबैमा थप उत्साह थपिएको आर्थिक समिति सयोंजक विश्वनाथ सापकोटाले बताए ।

महायज्ञमा गुरुदेव १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज, १००८ स्वामी विवेकानन्द सरस्वती महाराज, चेतराज कँडेलको कथा वाचन एवम् पण्डित पूणर्भद्र गौतमको यज्ञाचार्यत्व रहेको छ । अर्लाङ्कोटका अधिकांस व्यक्तिहरुको कर्म थलो जापान, वेलायत लगायतका बिकसित मुलुकमा रहेका कारण महायज्ञ सोंचे भन्दा बढी उपलब्धी मूलक रहने मूल आयोजक समितिले जनाएको छ ।

 
 
  
 

You may also like