स्कटल्यान्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य, सन्दीपको चार विकेट

by समतल अनलाइन

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१२ रन बनायो ।
स्कटल्यान्डका लागि जर्ज मुन्जले अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ९ चौंका र २ छक्काको सहयोगमा ६० रन बनाए ।

त्यस्तै म्याथ्यू क्रसले ४२ रन बनाउँदा बर्नान्डो मुलेनले ३१ रनको योगदान गरे । स्कटल्यान्डका काइल कोट्रेज र क्रिस्टोफर म्यकब्राइडले २२–२२ रन जोडे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । त्यस्तै करण केसीले तीन विकेट लिँदा सोमपाल कामी र ललित नारायण राजवंशीले एकएक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै नेपाल अपराजित हुँदै सिरिजको अन्त्य गर्ने योजनामा छ । यता च्याम्पियन स्कटल्यान्ड पनि जित निकाल्दै लिग २ को अन्त्य गर्ने योजनामा छ ।

लिग २ मा च्याम्पियन स्कटल्यान्डले ३५ खेल खेल्दै ५० अंक छ । नेपालले २७ खेलबाट २४ अंक छ ।

 
 
  
 

You may also like