राष्ट्रपतिमा सघाउन प्रचण्डलसँग कांग्रेसको औपचारिक प्रस्ताव

by समतल अनलाइन

काठमाडौं । राष्ट्रपति चुनावको मनोनयन मिति नजिकिँदै गर्दा दलका नेताहरुहरुको दौडधूप र भेटवार्ता बाक्लिएको छ ।
मुख्य सत्तारुढ दल नेकपा एमालेले पुस १० को सहमति अनुसार आफ्नै दलबाट राष्ट्रपति उम्मेदवार बन्ने दाबी गरिरहेको छ भने प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग भएको समझदारी अनुसार कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्दै आएको छ ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिँदै आएको सत्तारुढ माओवादी केन्द्रको आज (सोमबार) पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा राष्ट्रपतिमा कांग्रेस या एमाले कसलाई सघाउने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । हिजो मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रपतिको चुनावमा सघाउन औपचारिक आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका छन् । गएको पुस १० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिले राष्ट्रपतिको चुनावसँगै कांग्रेससँग सहकार्य अघि बढाउने योजनामा छन् । यो विषयमा कांग्रेस र माओवादीका नेताहरुबीच पटक–पटक छलफल भइसकेको छ ।

राष्ट्रपतिमा माओवादीले सहयोग गरे प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने कांग्रेसले आश्वासन दिँदै आएको छ । एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेला भएको सहमति अनुसार राष्ट्रपति आफ्नै दलले उठाएको उम्मेदवार हुनुपर्ने अडान लिइरहेका बेला कांग्रेसले एमालेसहितको ७ दलीय गठबन्धन भत्काएर पुरानै ब्युँताउने प्रयास गरिरहेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो फागुन २८ गते सकिँदैछ । नयाँ राष्ट्रपति चयनको लागि २५ गते चुनाव हुँदैछ भने आउँदो शनिवार १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

 
 
  
 

You may also like