महाशिवरात्रि : शनिबार सात लाखले गरे पशुपतिको मूल मन्दिरको दर्शन

by समतल अनलाइन

काठमाडौँ । महाशिवरात्रिका अवसरमा हिजो (शनिबार) सात लाख भक्तजनले पशुपतिको मूल मन्दिरको दर्शन गरेका छन् । हिजो मूल मन्दिरको सात लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । यस्तै, मन्दिर परिसरमा भने झण्डै १५ लाख भक्तजन पुगेका अनुमान गरिएको छ ।

पशुपतिनाथ मन्दिरको दर्शनका लागि हिजो बिहान ३ बजेदेखि नै लाइन लागेको थियो । दर्शनार्थीका लागि हिजो पाँच वटा लाइनको व्यवस्था गरिएको थियो । दर्शनार्थीले हिजो लामो लाइनमा बस्नु परेको गुनासो गरेका थिए । तर, पशुपति क्षेत्र विकास कोषले भने हिजो लाइन व्यवस्थित भएको दाबी गरेको छ ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले दर्शनार्थीको भिड बढ्दा लाइन लामो भएको बताएका छन् । उनले दर्शनार्थीले सजिलै दर्शन गर्न पाएका दाबी गरे । तर, दर्शनार्थीले हिजो दुई घण्टासम्म लाइन बस्नु परेको गुनासो गरेका थिए ।

शिवरात्रिका अवसरमा दर्शनार्थीबाट १५ लाखभन्दा धेरै भेटी सङ्कलन भएको पनि अनुमान गरिएको छ । मन्दिरमा चढाइएको भेटीको गणना आज हुनेछ । भक्तजनको संख्याको आधारमा १५ लाखभन्दा धेरै भेटी सङ्कलन भएको अनुमान गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताएका छन् । उनका अनुसार महाशिवरात्रिका अवसरमा पशुपति आएका साधु सन्तको बिदाइ भोलि गर्ने तयारी छ ।

भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ । साधुसन्तको स्तर वर्गीकरण गरेर पाँच सयदेखि आठ हजारसम्म दान दक्षिणा दिएर बिदाइ गर्ने तयारी छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलाई रङरोगन गरिएको थियो भने फूलमालाले सजाइएको थियो । यस्तै पशुपति मन्दिर क्षेत्रको सरसफाइ आजैदेखि सुरु हुने कोषले जनाएको छ ।

 
 
  
 

You may also like