कांग्रेस महामन्त्री थापाको दावी : फागुन १० भित्र सत्ता गठबन्धन भत्किन्छ

by समतल अनलाइन

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र वर्तमान सत्ता गठबन्धमा फेरबदल ल्याउने दाबी गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले आज (सोमबार) कोटिहवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन गरेरै छाड्ने दावी गरे । नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरे ।

फागुन २५ गते नेपाली कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने बताएका छन् । उनले सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने बताए ।

महामन्त्री थापाले लोकतन्त्र र संविधानको रक्षा तथा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि कांग्रेसको विकल्प नभएको दाबी गरे । पार्टीभित्र मतभेद रहे पनि सङ्घ र प्रदेशको चुनावमा कांग्रेस नेतृत्वको गठबन्धनले भोट माग्दा नागरिकसँग गरेका वाचा र प्रतिबद्धतालाई पूरा गर्ने दायित्वबाट पछि नहट्ने उनको भनाइ छ ।

 
 
  
 

You may also like