‘प्रतिनिधिसभाको उम्मेदवार बन्न पाउने उमेर १८ वर्षमा झार्नु पर्छ’

by समतल अनलाइन

काठमाडौं । पूर्व कानुनमन्त्री माधव पौडेलले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रस्ताव राखेका छन् ।

आज (बुधबार) राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न पाउने उमेर–सीमा घटाउनुपर्ने बताएका हुन् । उनले प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष राख्न उपयुक्त हुने बताए ।

नेपालमा पुरातनवादी परम्परालाई पछ्याएका कारण प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर २५ वर्षमै यथावत् रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताए । मतदान गर्न पाउने, तर उम्मेदवार बन्न नपाउने मान्यतालाई हटाएर नयाँ समयअनुसार परिवर्तन हुन सक्नुपर्ने उनको तर्क थियो ।

पूर्वमन्त्री पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन नै ऐनमा तोकेर राख्न आवश्यक रहेको बताए । विद्युतीय निर्वाचनलाई सुरुवात गर्नुपर्ने र निर्वाचन खर्चलाई कम गराउन आवश्यक रहेको बताए । अहिले राजनीतिक दलबाट प्रयोग भइरहेको समानुपातिक निर्वाचन प्रणाली विकृत रूपमा प्रयोग गरिरहेको उनको भनाइ थियो ।

 
 
  
 

You may also like