आइतबारदेखि वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं । आज (शनिबार) देशभर कतै वर्षा र हिमपातको सम्भावना नभएको मौसमविदले जनाएका छन् । तर आइतबारदेखि नेपालको पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो (दिनमा) प्रदेश–१ मा आंशिक बदली (आकाशमा थोरै बादल) तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । आज राति (रातमा) भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । यस्तै आइतबार राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाको बुलेटिनअनुसार सोमबार दिउँसो पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सो दिन राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

 
 
  
 

You may also like