उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर निर्वाचित

by समतल अनलाइन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छिन् । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मगर १६६ मतसहित उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

आज (शनिबार० प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा नेपाली काँग्रेसबाट उपसभामुखको उम्मेदवार रहेकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै मगर निर्वाचित भएकी हुन् । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत प¥यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

इन्दिराको प्रस्तावकमा रास्वपाकै सोविता गौतम थिइन भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन थिए । मुक्ताकुमारीको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल थिए । मगर सत्ता गठबन्धन दलबाट उम्मेदवार बनेकी हुन भने यादव विपक्षी दलबाट उम्मेदवार बनेकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । तर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएका थिए ।

 
 
  
 

You may also like