टाइगर प्यालेसले सार्वजनिक जग्गा मिचेको अदालतको ठहर,जग्गा खाली गर्न आदेश

by समतल अनलाइन

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाकाे काेटिहवा स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा मिचेको अदालले ठहर गरेको छ ।
जिल्ला अदालत रुपन्देहीले रिसोर्टले सार्वजनिक जग्गा मिचेको ठहर गर्दै जग्गा खाली गराउन आदेश दिएको हो ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीले सो आदेश गरेका हुन् । सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै स्थानियले अदालतमा निवेदन दिएका थिए । सो निवेदनमाथिकाे सुनुवाइ पछि अदालतको उक्त आदेश दिएको हो ।

टाइगर प्यालेस सञ्चालक कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रा.लि विरुद्ध लुम्बिनी नलकुपजल उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरे र टेकराज पौडेलले मुद्दा दायर गरेका हुन् । सो मुद्दा फैसला भएको र पूर्णपाठ आउन बाँकी रहेको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।

उक्त रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको निवेदकहरूले दाबी गरेका थिए ।

हङकङको कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले तिलोत्तमा नगरपालिकाको कोटिहवामा ५ अर्ब रुपैयाँ लगानीमा सो रिसोर्ट संचालनमा ल्याएको थियो । २०७४ देखी संचालनमा आएको सो रिसोर्ट १५ बिगाह क्षेत्रफलमा फैलिएको छ ।

यता अदालतको आदेशसँगै प्राइम बैंकले रिसोर्टमा लगानी गरेको २ अर्ब ५० करोड रूपयाँ संकटमा पर्नसक्ने आशंका गरिएको छ ।

 
 
  
 

You may also like