बुटवल । निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीका सदस्य विद्यालयका शिक्षक कर्मचारीका लागि एक दिने शिक्षक उत्पे्रणा तथा उद्घोषण तालिम कार्यक्रम आइतबार रुपन्देहीको रोहिणी धकधईमा भएको छ ।
नेशनल प्याब्सन रोहिणी गाँउपालिकाको आयोजना तथा स्थानीय ग्लोवल जोइन्ट स्कुल फेमलीको सहआयोजनामा भएको कार्यक्रममा स्थानीय संस्थागत विद्यालय ५० बढी शिक्षक तथा महिला शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमको उद्घाटन गर्दै रोहिणी गाँउपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले शिक्षकका लागि शिक्षण सिकाइमा क्षमता अभिवृद्धी गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
शिक्षकको बोलिमा मिठास र बोल्ने कलाको विकास हुनु पर्ने उल्लेख गर्दै शिक्षक उत्प्रेणा तथा उद्घोषण तालिमले अध्यापनमा सघाउने बिचार राख्नुभयो । उहाँले रोहिणी गापाभित्रका संस्थागत विद्यालयको विकासका लागि बैचारीकसँगै आर्थिक सहयोगका लागि स्थानीय सरकार सकारात्मक रहेको धारणा समेत राख्नुभयो । नेशनल प्याब्सन रोहिणी गापाका अध्यक्ष ओमप्रकाश यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सन रुपन्देहीका कोषाध्यक्ष अमरनाथ पाठकले नेशनल प्याब्सनका सदस्य विद्यालयका शिक्षकहरु क्षमता अभिवृद्धि कार्यक्रम निरन्तर गरिने बताउदै कोभिडपछि अव तालिम र शिक्षण सिकाईका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । ग्लोवल जोइन्ट स्कुल फेमलीका अध्यक्ष बबुल केवलको संचालनमा भएको कार्यक्रममा मोर्डन चिल्ड्रेन स्कुलका प्रिन्सिपल विशम्भर चौधरी, कसमस स्कुलका प्रिन्सिपल राम अवध गौड लगायतले मानव जीवनमा सिकाइको प्रकृया निरन्तर जारी रहने बताउदै नवितम सिकाइले शिक्षकलाई आफ्नो कार्यसम्पादनमा सघाउ पुग्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चारकर्मी तथा मोटिभेशनल स्पीकर झविन्द्र देवकोटाले जीवनको लक्ष्य निर्धारण, सिकाइ, ब्यक्तित्व विकास, उद्घोषण कला लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो ।