नव निर्वाचित सांसदहरुको आज शपथ

by समतल अनलाइन

काठमाडौं । प्रतिनिधिसभामा नव निर्वाचित सांसदहरूको आज (बिहीबार) शपथ हुने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज (बिहीबार) दिउँसो १ बजे नव निर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी पुरा पुगेको संघीय संसद् सचिवालयले जनाएको छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले नव निर्वाचित सांसदलाई पद तथा गोपनीयताको सपथ गराउने छन् ।

शपथ गराए लगत्तै सांसदलाई संसद्को लोगो समेत प्रदान गरिने कार्यक्रम रहेको छ । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ । मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहान बिहान ११ बजेसम्मको समय दिइएको छ ।

सपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिए लगत्तै नव निर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान कार्यक्रममा राष्ट्रि«यसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

 
 
  
 

You may also like